
काठमाडौं । निर्माणाधीन चलचित्र ‘द प्रोफेसनल गाइज’का मुख्य पाँच कलाकारको नाम सार्वजनिक गरिएको छ । चलचित्रमा अमन श्रेष्ठ, बासना तिमिल्सिना, शिशिर शिवाकोटी, जीवन बस्नेत र प्रवेश महतारा क्षेत्री मुख्य भूमिकामा देखिनेछन् ।
निर्माण टिमले कलाकार अनुबन्धको जानकारी पोस्टरको सट्टा भिडियोमार्फत दिने फरक शैली अपनाएको छ । यसक्रममा पहिलो भिडियो अभिनेता अमन श्रेष्ठको सार्वजनिक गरिएको छ । अन्य कलाकारका भिडियो पनि हरेक दिन सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।
जे.के.एस. इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको निर्माण घोषणा केही समयअघि भएको थियो । निर्देशकको नाम पहिल्यै सार्वजनिक गरिए पनि कलाकारको नाम अहिलेसम्म गोप्य राखिएको थियो । यसअघि चलचित्रको शीर्षक घोषणा तथा ‘एम.ए.डी.’को सिर्जनात्मक यात्रासम्बन्धी सामग्री पनि निर्माण टिमले फरक शैलीमा सार्वजनिक गरेको थियो ।
चलचित्रमा गोविन्द सुनार, भारत बारबरिक, सुरज पराजुली, रश्मि उप्रेती, सुशान्त डंगोल, विजय रोय, अबिन ठटाल, आशिष सौदागर, झान कुमार श्रेष्ठ, बिपन कार्की, मुन्ना शाह र राजु नन्दीलगायतको पनि अभिनय रहनेछ । बाल कलाकारमा रागन मानन्धर, एन्जेल मानन्धर, सृजन श्रेष्ठ, सिमरन श्रेष्ठ र अभिलाषा मानन्धर छन् ।
चलचित्रका गीतमा अस्मिता अधिकारी, बिराज गौतम र बियोन्डको स्वर रहनेछ । शीर्ष र्याप गीत बियोन्ड र केरु अन फ्लिकले प्रस्तुत गर्नेछन् । पृष्ठभूमि सङ्गीत नेस स्टुडियोअन्तर्गत ब्रिजेश श्रेष्ठ र बियोन्डले तयार पार्नेछन् ।
गीतका भिडियोमा राहुल शाहले नृत्य निर्देशन गर्नेछन् । छायांकन निर्देशक डार्विन श्रेष्ठ हुन् भने छायांकनमा डार्विन श्रेष्ठ, सुबन गुरुङ, विजय रोय र अमृत चौहान रहनेछन् । सम्पादन तथा रङ संयोजन अनन्त घिमिरेले गर्नेछन् भने भिएफएक्स तथा एनिमेसनको जिम्मेवारी डार्विन श्रेष्ठले सम्हाल्नेछन् ।




