
काठमाडौं । आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्र ‘जलाकी’को ट्रेलरले दर्शकमाझ राम्रो चर्चा पाएको छ । सार्वजनिक भएको छ दिनमै करिब साढे ३ लाख पटक हेरिएको ट्रेलर युट्युबको मुभिज ट्रेन्डिङ सूचीको चौथो स्थानसम्म पुगेको छ ।
ट्रेलर हेरेपछि धेरै दर्शकले आफ्नो कलेज जीवन सम्झिएको प्रतिक्रिया दिएका छन् । कतिपयले निर्देशक अशोक थापा मगरको अघिल्लो सफल चलचित्र ‘खुस्मा’को झल्को पनि पाएका छन् । ‘खुस्मा’ जस्तै यसमा पनि मगर समुदायको मौलिक संस्कृति, ग्रामीण परिवेश र भावनाले भरिएको प्रेमकथा देखिएकाले दर्शकले यसलाई यस वर्षकै प्रतीक्षित प्रेमकथाका रूपमा लिएका छन् ।
मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनको जोडी पर्दामा निकै मिलेको भन्दै उनीहरूको अभिनयको प्रशंसा भइरहेको छ । यद्यपि, ‘खुस्मा’मा उपासनासँग जोडी बनेका धीरज मगरलाई यसपटक नदेखेकोमा केही दर्शकले खल्लो मानेका छन् । ट्रेलरमा दुईबीचको कलेज जीवनको प्रेम, कक्षाकोठा र पुस्तकालयका मीठा क्षण तथा त्यसपछि आउने बिछोड र भावनात्मक सङ्कट देखाइएको छ ।
यही चलचित्रबाट रजतपटमा डेब्यु गरेकी साहारा हाङमा लिम्बुको अभिनयको पनि चर्चा सुरु भएको छ । पहिलो चलचित्र भए पनि ट्रेलरमा देखिएको उनको स्वाभाविक अभिनय र पर्दामा उपस्थितिले दर्शकको ध्यान तानेको छ ।
पोखरा, म्याग्दी र रोल्पाका मनमोहक दृश्य समेटिएको ट्रेलरले चलचित्र व्यावसायिक र कलात्मक दुवै हिसाबले बलियो बन्ने सङ्केत दिएको छ । ट्रेलरअघि सार्वजनिक ‘कलेजीको छेउ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका तीन गीत र टिजरले पनि दर्शकको राम्रो प्रतिक्रिया पाएका थिए । विशेषगरी ‘चाँदी जलप’ले फिल्मप्रतिको चासो बढाउन ठुलो भूमिका खेलेको छ ।
चलचित्रको शीर्षक ‘जलाकी’ले मगर समुदायमा विशेष आस्था र सम्झनाको प्रतीक मानिने परम्परागत ढुङ्गाको स्तम्भलाई जनाउँछ । निर्देशक मगरले यसलाई चलचित्रमा प्रेम र विश्वासको बलियो आधारका रूपमा प्रस्तुत गरेका छन् ।
उपासना, सोनम र साहारासँगै चलचित्रमा शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, सङ्गीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनले अभिनय गरेका छन् । क्याप्टेन विजय लामा विशेष भूमिकामा छन् भने मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाह मगर बालकलाकारका रूपमा देखिनेछन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछन् ।




