
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ । चलचित्रको प्रदर्शन रोकिएको खबर आइरहेका बेला निर्माण कम्पनी कालीरानी फिल्मस्ले प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक २० गते (शुक्रबार) देखि नै प्रदर्शन हुने स्पष्ट पारेको हो ।
प्रदर्शन रोकिएको भन्ने विषयमा विभिन्न माध्यमबाट फैलिएका समाचार तथा चर्चा निराधार अफवाह मात्र भएको निर्माण टिमको दाबी छ । “हाम्रो चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गते (भोलि) देखि नै देशभरका सम्पूर्ण हलहरूमा यथावत् प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ ।
निर्माण टिमले सबै धर्मप्रति उच्च सम्मान रहेको र चलचित्रले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्याउने, अपमान गर्ने वा अवहेलना गर्ने उद्देश्य नराखेको पनि प्रस्ट पारेको छ ।
“हामी सबै धर्म, संस्कृति र आस्थाको सम्मान गर्छौँ,” विज्ञप्तिमा छ, “हाम्रो चलचित्रप्रति यहाँहरूले देखाउनुभएको माया, विश्वास, साथ र सद्भावप्रति हामी उच्च सम्मान व्यक्त गर्छौँ । आगामी दिनमा पनि यहाँहरूको साथ, सहयोग र मायाको अपेक्षा राख्छौँ ।”
चलचित्रको अग्रिम बुकिङ बुधबारदेखि नै खुलिसकेको छ । तिहारको छेको पारेर प्रदर्शनमा आउन लागेको चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।
चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको मुख्य भूमिका छ ।
कालीरानी फिल्मस्को ब्यानरमा बनेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् । प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्, जसले गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलको हो । उनका अनुसार यो ‘सोसल ड्रामा’ हो, जसले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्छ ।
चलचित्रलाई श्याम तामाङले छायांकन गरेका छन् । सुप्रिम पराजुलीको सम्पादन तथा रङ सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको ध्वनि डिजाइन, सुजिल कर्माचार्यको पार्श्वसंगीत र पुकार धिमालको भीएफएक्स रहेको छ । रोहितराज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन् ।
दर्शकले चलचित्रमा डल्बी एटमस ध्वनिको अनुभव गर्न पाउनेछन् । चलचित्रको डिजिटल साझेदार ओएसआर डिजिटल हो भने रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।





