
काठमाडौं । नेपालको पहिलो मल्टिप्लेक्स बिग मुभिजले हल रिनोभेसन गरी अत्याधुनिक प्रविधि भित्र्याएको छ । कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले बारको ४के आरजीबी लेजर प्रोजेक्टर र ६४ च्यानलको डल्बी एटमस ध्वनि प्रणाली जडान गरेको हो ।
दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्सको सुरुवात गरेको बिग मुभिजले दर्शकको बढ्दो अपेक्षालाई ध्यानमा राख्दै दृश्य, ध्वनि, सिट र हलको वातावरण सबै पक्षमा अन्तर्राष्ट्रिय स्तर कायम गरेको जनाएको छ । कम्पनीको नारा ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफरेन्स’लाई सार्थक बनाउने उद्देश्यले रिनोभेसन गरिएको हो ।
हलमा जडान गरिएको युरोपेली ब्रान्ड बारकोको एसपी४के–२०सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१ हजार ल्युमेन्सको चमक र ४०९६x२१६० को नेटिभ ४के रिजोलुसन छ । यसले ९८.५ प्रतिशतभन्दा बढी रेक २०२० र डीसीआई–पी३ रङ दायरा समेट्ने भएकाले पर्दामा दृश्य स्पष्ट, चम्किलो र वास्तविक रङमा देखिने कम्पनीको दाबी छ । हलहरूमा विशेष सिल्भर स्क्रिन पनि राखिएको छ ।

ध्वनितर्फ परम्परागत प्रणालीभन्दा फरक, हरेक स्पिकरलाई छुट्टाछुट्टै अडियो फिड दिने ६४ च्यानलको डल्बी एटमस प्रणाली जडान गरिएको छ । हलको छत र चारैतिर राखिएका स्पिकर तथा सीपी५ए साउन्ड प्रोसेसरको सहायताले एकैपटक १२८ वटासम्म साउन्ड अब्जेक्ट नियन्त्रण गरी दर्शकलाई चारैतर्फबाट ध्वनिको अनुभव दिलाउँछ । यसले विशेषगरी एक्सन र ध्वनिप्रधान चलचित्रमा दर्शकलाई थप रोमाञ्चक अनुभव दिने बताइएको छ ।
दर्शकको सहजताका लागि हलमा २२ इन्चका २५५ वटा ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सी राखिएका छन्, जसमा एर्गोनोमिक बनावट, ल्यामिनेटेड कपडा र तीन अवस्थामा लक गर्न मिल्ने सुविधा छ । थप आरामदायी अनुभवका लागि २९ इन्चका २९ वटा ‘रोयल लक्जुरिया’ रिक्लाइनर पनि जडान गरिएको छ । हलभित्र नयाँ कार्पेट, ध्वनि सोस्ने भित्ते आवरण र आधुनिक बत्तीको व्यवस्था गरिएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले आफ्नो इतिहास र पहिचान कायम राख्दै प्रविधि र सुविधामा नयाँ स्तर स्थापित गर्न खोजिएको बताए । “नेपालको पहिलो मल्टिप्लेक्सको पहिचान बनाएको बिग मुभिजले प्रविधि र सुविधामा सधैँ अगाडि रहने आफ्नो इतिहासलाई यो रिनोभेसनमार्फत पुनः प्रमाणित गरेको छ,” उनले भने, “अब बिग मुभिजमा चलचित्र हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुनेछैन, कथा र वातावरणलाई महसुस गर्ने अविस्मरणीय अनुभव हुनेछ ।”
अध्यक्ष अर्यालका अनुसार अब बिग मुभिजमा दर्शकले उत्कृष्ट दृश्य, ध्वनि र आरामसहित सिनेमाको समग्र अनुभव लिन पाउनेछन् ।




