
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणपत्र पाएको छ । समितिले बुधबार बिहान चलचित्रलाई यो प्रमाणपत्र प्रदान गरेको हो । युनिभर्सल प्रमाणपत्र पाएसँगै यो चलचित्र जुनसुकै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । चलचित्र सपरिवार बसेर हेर्न मिल्ने बनेको निर्माणपक्षको भनाइ छ ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र यही कात्तिक २० गतेदेखि देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलाको मुख्य भूमिका छ । सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजङ्ग खत्री) पनि चलचित्रमा छन् ।
काली रानी फिल्म्सको ब्यानरमा बनेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । नवीनले गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । उनका अनुसार यो सामाजिक नाटकीय चलचित्र हो, जसले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।




