
काठमाडौं । दसैंमा प्रदर्शन भएको ‘छ माया छपक्कै २’ अपेक्षाअनुसार नचलेपछि निराश बनेका अभिनेता दीपकराज गिरीलाई प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनले हौसला दिएका छन् । फिल्मको असफलताको जिम्मा आफैंले लिँदै दीपकराजले फेसबुकमा लेखेको पोस्टमा प्रतिक्रिया जनाउँदै बेनले उनको अहिलेसम्मको बक्स अफिस यात्रा सम्झाएका हुन् ।
बेनका अनुसार दीपकराजका आठवटा फिल्ममध्ये एउटा मात्र अपेक्षाअनुसार चलेन, तर त्यसको कमाइ पनि हिट भनिएका धेरै फिल्मकै हाराहारीमा छ । आफ्नै अनुभव सुनाउँदै उनले आफ्नो फिल्म ५१ दिनसम्म हलमा टिक्दा पनि करिब १ करोड ४० लाख रुपैयाँ मात्र कमाएको र त्यसलाई आफूले असफल नै मानेको बताएका छन् ।
सोही प्रतिक्रियामा बेनले दीपकराजसँग फिल्म बनाउने विषयमा ११–१२ वर्षदेखि कुरा हुँदै आएको सम्झाएका छन् । लामो समयदेखिको त्यो सहकार्य अब कहिले हुन्छ भनेर उनले दीपकराजसँगै प्रश्न गरेका छन् । उनको यो टिप्पणीपछि दुवैबीच नयाँ फिल्मको सम्भावनाबारे चासो बढेको छ ।

बेनले आफ्नो पहिलो फिल्मका रूपमा ‘झरीपछिको इन्द्रेणी’को उल्लेख गरेका छन् । बेनकै कथामा बनेको यो फिल्म गत पुस ४ गतेदेखि हलमा प्रदर्शन भएको थियो । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको फिल्ममा गणेश उप्रेती, प्रियना आचार्य, दीपाश्री निरौला लगायतको अभिनय थियो । प्रतिनिधिसभा निर्वाचनअघि फागुनमा उक्त फिल्म बालेन शाहको युट्युब च्यानलमार्फत पनि सार्वजनिक गरिएको थियो ।
दीपकराज आफैंले पटकथा लेखेर मुख्य भूमिका निभाएको ‘छ माया छपक्कै २’मा केकी अधिकारीसमेतको अभिनय छ । दसैंजस्तो व्यावसायिक रूपमा उपयुक्त समयमा प्रदर्शन भए पनि फिल्मको कमाइ ४ करोड रुपैयाँसम्म नपुगेको फिल्मीखबरले जनाएको छ । यो दीपकराजको टिमबाट बनेका फिल्ममध्ये अहिलेसम्मकै कम कमाइ हो ।
फिल्म नचलेपछि दीपकराजले फेसबुकमार्फत आफ्ना कमजोरी स्वीकार्दै असफलताको जिम्मा आफूमाथि लिएका थिए । उनको पोस्टमा धेरै दर्शक तथा शुभचिन्तकले निराश नहुन र अर्को फिल्मबाट फेरि फर्किन सुझाव दिएका थिए । ‘छ माया छपक्कै’ शृंखलाको पहिलो भाग भने व्यावसायिक रूपमा सफल भएको थियो ।




