
काठमाडौं – नेपाली चलचित्र ‘चंगुल’ र ‘चमेलीको पोइ’ शुक्रबार अर्थात् असोज १६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आएका छन्।
समसामयिक राजनीति र त्यसको सामाजिक प्रभावलाई कथावस्तु बनाएको ‘चंगुल’ले विशेषगरी गत वर्ष भएको जेन्जी आन्दोलनको विषयलाई उठान गरेको छ। राम गौतमको निर्देशन तथा मालती कार्कीको निर्माणमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना तथा बालकलाकार रिम्शा कार्कीको अभिनय रहेको छ।
यसअघि काठमाडौंमा आयोजित प्रिमियरमा चलचित्रकर्मी, विशिष्ट व्यक्तित्व तथा ‘घाइते जेन्जी नेपाल’का घाइते अभियन्ताहरूको उपस्थिति रहेको थियो। प्रिमियरपछि घाइते जेन्जी अभियन्ताहरूले चलचित्रले आफूहरूलाई एक वर्षअघिका आन्दोलनका दिन सम्झाएको प्रतिक्रिया दिएका थिए। सोही अवसरमा निर्माण पक्षले ‘घाइते जेन्जी नेपाल’का अध्यक्ष बादल राईसहित घाइते युवाहरूलाई सम्मानसमेत गरेको थियो।
चलचित्रको छायांकन तथा सम्पादन दीपेन बस्न्यातले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत चलचित्रमा समावेश छ। निर्माण पक्षले चलचित्रबाट प्राप्त हुने नाफाको केही हिस्सा ‘घाइते जेन्जी नेपाल’लाई प्रदान गर्नुका साथै बाढीपीडितको सहयोगार्थ छुट्याउने प्रतिबद्धता जनाएको छ।
यस्तै, एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चमेलीको पोइ’ पनि शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ। प्रेम, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात, पारिवारिक सम्बन्ध तथा हास्यलाई कथाको केन्द्रमा राखिएको चलचित्रमा वरिष्ठ हास्य कलाकार नारायण त्रिपाठी ‘प्रेमचरो’को पुनरागमनलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।
करिब १८ वर्षपछि ‘प्रेमचरो’ नामबाट लोकप्रिय नारायण त्रिपाठी यही चलचित्रमार्फत ठूलो पर्दामा फर्किएका हुन्। लामो समय अमेरिकामा रहेका त्रिपाठीको नेपाली चलचित्रमा पुनरागमनले ‘चमेलीको पोइ’प्रति दर्शकको चासो बढाएको निर्माण पक्षको अपेक्षा छ।
चलचित्रमा नारायण त्रिपाठीसँगै सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा छन्। विल्सन विक्रम राई, रविन्द्र झा, उमेश राई ‘फुलन्देकी आमा’, प्रेमदेव गिरी, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बबिन राई र खड्कबहादुर पुनलगायत कलाकारको पनि अभिनय रहेको छ।
एकातर्फ समसामयिक राजनीतिक घटनाक्रम र त्यसको प्रभावलाई कथाको आधार बनाएको ‘चंगुल’ प्रदर्शनमा आएको छ भने अर्कोतर्फ प्रेम, पारिवारिक सम्बन्ध र हास्यलाई केन्द्रमा राखिएको ‘चमेलीको पोइ’ दर्शकमाझ पुगेको छ। दसैंको पूर्वसन्ध्यामा एकैदिन प्रदर्शनमा आएका यी दुई चलचित्रले नेपाली हलमा दर्शकको आकर्षण पाउने अपेक्षा गरिएको छ।




