
काठमाडौं – तपाईँलाई दसैँ आउन लागेको कसरी थाहा हुन्छ? घरमा नयाँ लुगा आउँदा? पिङ हाल्न थालेपछि?कि जमरा राख्ने दिन नजिकिँदा?
तर नेपाली चलचित्रका दर्शकलाई भने यी सबै कुराले खास फरक पर्दैन होला जति दीपक-दीपाको फिल्मले पार्छ। जब उनीहरूको फिल्म रिलिजको कुरा हुन्छ तब मात्र धेरै दर्शकलाई दसैँ आएजस्तै हुन्छ।
यति बेला चलचित्र ‘छ माया छपक्कै २’ को शीर्ष गीतले युट्युबमा दर्शकको राम्रो माया पाइरहेको छ। गीतलाई करिब २५ लाख पटक हेरिसकिएको छ, अनि कमेन्ट हेर्ने हो भने अधिकांश दर्शक गीतको शब्द, सङ्गीत र गायकीको खुलेर प्रशंसा गरिरहेका छन्।
कसैले लेखेका छन्, ‘यो गीत साँच्चिकै मन छुने र सुन्दर सिर्जना रहेछ।’
अर्का दर्शक भन्छन्, ‘कहिल्यै फिल्म हेर्न हल गइँदैन, तर दीपक-दिपाको फिल्म हेर्न चाहिँ हलसम्म पुगिन्छ।’
र, एउटा प्रतिक्रिया त झन् रमाइलो छ– ‘अब दसैँ आएजस्तो भो… उहाँहरूको फिल्म नहेरी दसैँ जाँदैन।’
यो प्रतिक्रिया केवल एउटा गीतप्रतिको माया मात्रै होइन, दीपक-दीपाको टिमले लामो समयदेखि बनाएको दर्शकसँगको सम्बन्धको एउटा झल्को पनि हो। कुनै बेला ‘तितो सत्य’मार्फत नेपालीका घरघरमा पुगेको दीपक-दीपाको टिमले पछिल्लो दशकमा हास्य टेलिशृंखलाबाट ठूलो पर्दातर्फ आफ्नो यात्रा अघि बढायो।
‘छक्का पञ्जा’ शृङ्खलाबाट दसैँको समयमा नेपाली दर्शकलाई हलसम्म तान्ने परम्परालाई निरन्तरता दिएको यो टिमले ‘छ माया छपक्कै’ मार्फत पनि दर्शकको मन जित्यो। अहिले त्यही शृङ्खलाको दोस्रो भाग ‘छ माया छपक्कै २’ लिएर दीपक–दीपाको टिम फेरि दसैँको माहौलमा आइपुगेको छ।
त्यसैले त, कसैले दीपक राज गिरीलाई नेपाली चलचित्रको ‘अर्ग्यानिक’ कथा वाचन गर्ने निर्माताका रूपमा हेर्छन्, कसैले दीपाश्री निरौलासहितको टिमलाई नेपाली चलचित्र क्षेत्रको बलियो स्तम्भ मान्छन्।
दर्शकको एउटा ठूलो हिस्साका लागि भने कुरा यति मात्रै हो, दीपक-दीपाको फिल्म आयो, दसैँ आएजस्तो भयो।
अब ‘छ माया छपक्कै २’ ले हलमा कस्तो माहौल बनाउँछ, त्यो हेर्न बाँकी छ। तर शीर्ष गीतले पाएको प्रतिक्रियाले एउटा कुरा भने देखाइसकेको छ- दर्शक अझै पनि दीपक-दीपाको फिल्मलाई उत्तिकै आत्मीयताका साथ पर्खिरहेका छन्।
यस गीतमा करण परियार, अभि सुनार र रश्मि विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द तथा सङ्गीत अभि सुनारको रहेको छ। गीतको कोरियोग्राफी किरण थापाले गरेका छन्।
भिडियोमा दीपकराज गिरी, केकी अधिकारी, रिहान गिरी, कर्मा शाक्य र सनिशा भट्टराई छन्। रोहित अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन्। चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।
गीत:



