चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको लागि दरखास्त आह्वान, के-के योग्यता चाहिन्छ ?



काठमाडौं –  नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आज सूचना प्रकाशित गर्दै उक्त पदमा एक जना उम्मेदवार छनोट गरी मनोनयनका लागि सिफारिस गर्नुपर्ने भएकाले इच्छुक र योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको हो । मन्त्रालयको सूचनाअनुसार इच्छुक उम्मेदवारले यहि असोज ७ गते कार्यालय समयभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ ।

बोर्डको अध्यक्ष बन्नका लागि मन्त्रालयले उम्मेदवारको उमेर तीस वर्ष पूरा भई पैंसठ्ठी वर्ष ननाघेको हुनुपर्ने योग्यता तोकेको छ । कुनै पनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा दश वर्ष कार्य गरेको अनुभव भएका नेपाली नागरिकले मात्र यस पदमा आवेदन दिन सक्नेछन् । साथै, उम्मेदवार सूचना तथा सञ्चार मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी दिग्दर्शन, २०८३ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।

दरखास्तसाथ उम्मेदवारले संलग्न ढाँचाबमोजिमको आवेदन फाराम, नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक योग्यता र अनुभव खुल्ने कागजातका प्रमाणित प्रतिलिपिहरू पेस गर्नुपर्नेछ । यसका अतिरिक्त, उम्मेदवारले नेपाली वा अङ्ग्रेजी भाषामा ‘ए फोर’ साइजको कागजमा तयार पारिएको न्यूनतम तीन हजार शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना तीन प्रति र त्यसको प्रस्तुतीकरणसमेत बुझाउनुपर्नेछ । कार्ययोजनाको कभर पेजमा मात्र आफ्नो नाम लेखिएको हुनुपर्ने र अन्यत्र कहीँ आफूलाई चिनाउने कुनै सङ्केत नराख्न मन्त्रालयले विशेष निर्देशन दिएको छ ।

इच्छुक उम्मेदवारले दरखास्त फाराम सूचना तथा सञ्चार मन्त्रालयको संस्थान समन्वय शाखा, सिंहदरबारमा पेस गर्न सक्नेछन् । त्यसैगरी मन्त्रालयको आधिकारिक इमेल ठेगाना मार्फत समेत तोकिएको समयभित्र दरखास्त पठाउन सकिने व्यवस्था गरिएको छ ।

प्राप्त आवेदनहरूमध्येबाट संक्षिप्त सूचीमा परेका आवेदकहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको तालिका पछि मन्त्रालयको वेबसाइटमा प्रकाशन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu