नेपालको सफलतासँगै अमेरिकामा पुग्दै ‘बेहुली’, शुक्रवारदेखि २३ राज्यका विभिन्न सहरमा रिलिज हुने



काठमाडौं – नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ। चलचित्रको अमेरिका प्रदर्शन यही शुक्रवार अर्थात् सेप्टेम्बर १८ देखि सुरु हुने भएको हो। चलचित्रलाई ‘सेभेज सिज इन्टरनेशनल फिल्म्स’ले अमेरिकामा रिलिज गर्न लागेको हो।

चलचित्रको अमेरिका प्रदर्शनसम्बन्धी सार्वजनिक जानकारी अनुसार ‘बेहुली’ अमेरिकाका २३ वटा राज्यमा रहेका विभिन्न चलचित्र हलमा प्रदर्शन हुनेछ। चलचित्र टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिसौरी, नेब्रास्का, ओहायो, इलिनोइस, नेभाडा, न्यूयोर्क, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओरेगन, पेन्सिलभेनिया, साउथ डकोटा, युटा, क्यालिफोर्निया, आयोवा, विस्कन्सिन, अलास्का, म्यासाचुसेट्स र न्यु ह्याम्पसायरमा प्रदर्शनमा आउनेछ। अमेरिकाका विभिन्न राज्यमा रहेका सिनेमार्क, मार्कस, हार्किन्स, एप्पल सिनेमाजलगायतका चलचित्र हलमा ‘बेहुली’का प्रदर्शन तय गरिएको छ।

नेपालमा प्रदर्शनको क्रममा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको ‘बेहुली’लाई अब अमेरिकामा रहेका नेपाली तथा नेपाली चलचित्रप्रेमी दर्शकमाझ पुर्‍याउन लागिएको प्रस्तुतकर्ता अर्जुन पोखरेलले बताए। चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै नेपाली चलचित्रलाई विदेशमा रहेका दर्शकमाझ पुर्‍याउने क्रमलाई पनि यसले निरन्तरता दिएको उनले बताएए। अमेरिकामा मात्र सीमित नरही ‘बेहुली’ अन्य मुलुकहरूमा समेत प्रदर्शन हुने तयारीमा रहेको छ। ती मुलुक र प्रदर्शन मितिबारे थप जानकारी क्रमशः सार्वजनिक गरिने पोखरेलले बताए।

यस चलचित्रमा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ लगायतको अभिनय रहेको छ। यो चलचित्रले हाम्रो समाजभित्रको यथार्थ भावना, युवा-युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ। यस चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गरेका हुन्। चलचित्रका प्रस्तुत कर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्। कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu