
काठमाडौं – आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चंगुल’ को फरक शैलीको टाइटल गीत सार्वजनिक गरिएको छ। झाँक्रीको ढ्याङ्ग्रोसँगै र्यापको सम्मिश्रण रहेको यस गीतले देशलाई सतीले सरापेको नभई भ्रष्ट शासकहरूको आँखा लागेको भन्दै, तिनै भ्रष्टहरूको नजरलाई झाँक्री बनेर मन्छाउने विम्बात्मक दृश्य र कथावस्तु प्रस्तुत गरेको छ।
विक्रम कार्कीको सङ्गीत रहेको यस गीतमा ‘ओ नेगेटिभ’ राजु श्रेष्ठ र सन्देश पौडेलको स्वर सुन्न सकिन्छ। गीतका शब्द गायक श्रेष्ठ र मुख्य अभिनेता रवि कार्कीले संयुक्त रूपमा लेखेका हुन् भने यसको कोरियोग्राफी पनि अभिनेता कार्की स्वयंले गरेका छन्।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको यस चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानाका साथै बालकलाकार रिम्शा कार्कीको अभिनय रहेको छ।
प्राविधिक पक्षतर्फ दीपेन बस्न्यातको छायांकन तथा सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रका अन्य गीतहरूमा विपिन आचार्य र नन्दनी अधिकारीको पनि सङ्गीत समावेश छ। निर्माण पक्षले यस चलचित्रबाट प्राप्त हुने नाफाको केही हिस्सा घाइते जेन्जी अभियन्ताहरू र बाढीपीडितको सहयोगार्थ प्रदान गर्ने घोषणा गरेको छ।
गीतः



