नेपाल–भुटान–भारत सहकार्यको जम्बी हरर चलचित्र ‘टनेल २६’को ट्रेलर सार्वजनिक, नेपालबाट निर्वाण र प्रदीप खड्का हुन् निर्माता



काठमाडौं – नेपाल, भुटान र भारतको संयुक्त सहकार्यमा निर्माण भएको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार ललितपुरमा आयोजित विशेष समारोहबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

डीडी किन्लेको लेखन, निर्देशन तथा सम्पादन रहेको चलचित्र आगामी असोज २३ गते (अक्टोबर ९) देखि नेपाल र भुटानका हलमा एकसाथ प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा चौधरी ग्रुपका निर्वाण चौधरी, चलचित्रका क्रिएटिभ प्रोड्युसर तथा अभिनेता प्रदीप खड्का, अभिनेत्री आना शर्मा, अभिनेता अनुपविक्रम शाहीलगायत नेपाली कलाकार तथा भुटानबाट सांगे छेल्ट्रिम, निर्देशक, डिओपीसहितको टोलीको उपस्थिति थियो।

ट्रेलरमा रहस्यमय सुरुङ र ‘पहाडमुनिको श्राप’लाई कथाको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ। एउटा खतरनाक सुरुङमा आपत्कालीन उद्धारको आदेश जारी भएसँगै त्यहाँ रहेका रहस्यमय शक्तिहरू र बढ्दो खतराले परिस्थिति नियन्त्रणबाहिर पुग्दै गएको देखाइएको छ। सुरुङभित्र फरक शक्ति र क्षमता भएका जम्बीहरूको उपस्थितिलाई समेत ट्रेलरमा रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ।

चलचित्रमा भुटानी अभिनेता सांगे छेल्ट्रिम, नेपाली कलाकार अनुपविक्रम शाही र आना शर्माका साथै निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादाको मुख्य भूमिका रहेको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्वाण चौधरीले सन् १९८४ मा आफ्ना पिता विनोद चौधरीले ‘वासुदेव’ चलचित्र निर्माण गरेको स्मरण गर्दै अब चलचित्र निर्माणमा आफ्नो पालो आएको बताए।

चलचित्रका कार्यकारी निर्माता तथा अभिनेता प्रदीप खड्काले नेपाल, भारतको उत्तरी क्षेत्र र भुटानजस्ता हिमालयन रेन्जका देश तथा त्यहाँका चलचित्रकर्मीबीच सहकार्य आवश्यक रहेको बताए। सोही सोचअनुसार ‘टनेल २६’ यस किसिमको सहकार्यको पहिलो प्रयास भएको उनको भनाइ थियो।

चलचित्रका निर्माता तथा प्रमुख अभिनेता सांगे छेल्ट्रिमले नेपाल र भुटानजस्ता साना देशका चलचित्रकर्मीले मिलेर अन्तर्राष्ट्रिय बजार खोज्नुपर्ने बताए। ठूला फिल्म उद्योगहरूले नेपाल र भुटानका कलाकारसँगै भारतको उत्तरी क्षेत्रका कलाकारलाई पनि पर्याप्त स्थान नदिने उल्लेख गर्दै उनले यी क्षेत्रहरू एकताबद्ध भएर सामूहिक रूपमा चलचित्र निर्माण र बजार विस्तार गर्नुपर्ने धारणा राखे।

‘सांगे छेल्ट्रिम फिल्म्स’ र ‘पिक एक्सभी स्टुडियोज’को ब्यानरमा निर्माण भएको चलचित्रमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का (क्रिएटिभ प्रोड्युसर), प्रशान्त कुमार गुप्ता, सांगे छेल्ट्रिमलगायतको लगानी रहेको छ। दोर्जी वाङ्चुक कार्यकारी निर्माता हुन्।

चलचित्रको प्राविधिक पक्षमा दीर्घ गुरुङ र संगय टी. तेन्जिङको छायांकन तथा राजु तामाङको एक्सन निर्देशन रहेको छ। चलचित्रको पार्श्वसंगीत तथा ध्वनिको काम थाइल्यान्डमा गरिएको हो। चर्चित संगीतकार तेर्डसाक जानपानले चलचित्रको पार्श्वसंगीत तयार पारेका छन्।

निर्माण पक्षका अनुसार नेपाल र भुटानमा प्रदर्शनपछि ‘टनेल २६’लाई एसिया, उत्तर अमेरिकालगायतका अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन गर्ने तयारी गरिएको छ। नेपाल, भुटान र भारतका चलचित्रकर्मीबीचको सहकार्यमा निर्माण भएको यो चलचित्रले क्षेत्रीय कथालाई जम्बी हरर विधामार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य राखेको निर्माण पक्षको भनाइ छ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu