
काठमाडौं – निर्देशक सौरभ चौधरीको आगामी बहुप्रतीक्षित चलचित्र ‘द राइज अफ साम्राज्य’ मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन्। यसअघि नै सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ जस्ता चर्चित कलाकारहरू जोडिसकेको यस चलचित्रमा सुशीलको प्रवेशसँगै कलाकारको लाइनअप थप बलियो बनेको छ। निर्देशक चौधरीका अनुसार चलचित्रमा सुशीलले मुख्यमध्ये एक महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई नेपाली सिनेमाकै ठूलो क्यानभास र स्केलको ‘एपिक एक्सन ड्रामा’ को रूपमा प्रस्तुत गर्न लागिएको छ। चर्चित उपन्यासकार बुद्धिसागरको कथा तथा पटकथा रहेको यस चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ, जसका लागि निर्माण पक्षले ७० दिनको कार्यतालिका तय गरेको छ। हाल छायांकनको अन्तिम तयारी भइरहेको र लोकेसन छनोटको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।
यस चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन् भने सह-निर्माता विश्वास बस्नेत (बेन) र कार्यकारी निर्माता शंकर पाण्डे रहेका छन्। प्राविधिक पक्षतर्फ मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको एक्सन (द्वन्द्व) निर्देशन रहनेछ। डिसीएनले वितरणको जिम्मा लिएको यस चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल र पब्लिसिटी पार्टनर टौवा स्टुडियो रहेका छन्।



