युवापुस्ताको कथा बोल्ने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ को शुभमुहूर्त, बुधबारबाट छायांकन सुरु हुने



काठमाडौं – ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै बलिराम चौहानको निर्देशनमा बन्ने नयाँ नेपाली चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ को शुभमुहूर्त सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार यस चलचित्रको छायांकन बुधबारदेखि काठमाडौंको लाजिम्पाटबाट सुरु गरिनेछ। ३५ दिनको कार्यतालिका तय गरिएको यस चलचित्रलाई काठमाडौं, झापा र सुनसरीको इटहरी क्षेत्रमा खिचिनेछ।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। निर्देशक चौहानका अनुसार चलचित्रले जेनजी पुस्ताको प्रेम, सङ्घर्ष, स्वतन्त्रता र युवापुस्ताको मनोविज्ञानलाई पर्दामा उतार्नेछ। युवापुस्ताले साथीभाइबीच हुने किचकिच र मानसिक तनावलाई बुझाउन प्रयोग गर्ने प्रचलित शब्द ‘ल्याङ्ग ल्याङ्ग’ लाई नै चलचित्रले आफ्नो मुख्य विषयवस्तु र शीर्षक बनाएको छ।

भोलानाथ कटुवालको लगानी रहने यस चलचित्रमा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँ लगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ।

चलचित्रको कथा निर्देशक बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा तयार पारेका हुन्। प्राविधिक पक्षतर्फ रवी रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला (एनमक्स) को सङ्गीत, साश्वत श्रेष्ठको पार्श्व सङ्गीत र मित्र डी गुरुङको सम्पादन रहनेछ। महेश मगर प्रोडक्सन म्यानेजर र रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu