
काठमाडौं – आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कार्की साइँला’ को आधिकारिक ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ। निर्माण पक्षले ‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा भरियाको काम गर्ने मुख्य पात्र ‘कार्की साइँला’ (जितु नेपाल) को जीवनकथा, गाउँलेको हेपाइ र पारिवारिक भोगाइलाई प्रस्तुत गरिएको छ। ट्रेलरमा गाउँमा आएकी एक युवती (प्रियना आचार्य) सँगको भेट, उनीहरूबीचको प्रेम विवाह र सन्तान प्राप्तिको सन्दर्भ समेटिएको छ। यसका साथै, पुरुषले समाजमा आफ्ना दुःख र आँसु लुकाउनुपर्ने बाध्यतालाई पनि विषयवस्तुका रूपमा उठाइएको छ।
राजेन्द्र बस्नेतको निर्देशन रहेको यस चलचित्रमा जितु नेपाल, प्रियना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा र मान्शी शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। डम्बर राईको कथामा निर्माण भएको यस चलचित्रको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्।
बाल कुमार राई र निर्भिक बञ्जारा निर्माता तथा अनन्त राई कार्यकारी निर्माता रहेको यस चलचित्रमा दिप्सन लिम्बु र संकेत अगस्थीको सङ्गीत रहेको छ। चलचित्रको प्रोडक्सन म्यानेजमेन्ट सिबि भण्डारी र शृङ्गार रबी केसीले गरेका हुन्। कुबेर फिल्मस्ले वितरण गर्ने यस चलचित्रको पोस्ट प्रोडक्सन ग्लोबल रिल मोसन पिक्चर्सले गरेको छ।
ट्रेलरः




