
काठमाडौं – गत भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पार्वती’ले बक्स अफिसमा एक करोड ५८ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपा विवरणअनुसार यस चलचित्रले पहिलो १० दिनमा (भदौ २१ गतेसम्म) ५४ हजार ७३५ वटा टिकट बिक्री गर्दै १ करोड ५८ लाख ८४ हजार १३६ रुपैयाँ ग्रस कमाइ गरेको हो।
यसैगरी, अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘मास्टर्नी’ले प्रदर्शनको १७ दिनमा १२ हजार १९७ वटा टिकट बिक्रीबापत ४० लाख १५ हजार १९९ रुपैयाँ ग्रस कमाएको छ। बोर्डको तथ्याङ्कअनुसार ‘मास्टर्नी’को यो व्यापार ‘पार्वती’को तुलनामा करिब चार गुणा कम हो। यस चलचित्रले पछिल्लो सात दिनमा ६२ हजार ३४० रुपैयाँको मात्र व्यापार गरेको विवरणमा उल्लेख छ।
गत साउन १ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘गौँथली’ को कुल व्यापार भने २६ करोड रुपैयाँ नजिक पुगेको छ। विकास बोर्डको तथ्याङ्कअनुसार भदौ २१ गते (आइतबार) सम्म यस चलचित्रका कुल ९ लाख ३० हजार ७४४ वटा टिकट बिक्री भएका छन्, जसबाट २५ करोड ८६ लाख २८ हजार ६१५ रुपैयाँ ग्रस कमाइ भएको छ। हालसम्मको व्यापार हेर्दा ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ।
त्यस्तै, साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘हली’ को बक्स अफिस विवरण पनि बोर्डले अद्यावधिक गरेको छ। आइतबारसम्म यस चलचित्रको कुल कमाइ २३ लाख ३२ हजार ४७० रुपैयाँ ग्रस पुगेको छ। जम्मा ८ हजार ५२५ वटा टिकट बिक्री भएको यस चलचित्रले पछिल्लो सात दिनमा २१ हजार २०० रुपैयाँ मात्र थपेको तथ्याङ्कले देखाएको छ।




