चलचित्र ‘पेन्सन पट्टा’ पुस्तान्तरण र सामाजिक मनोविज्ञानको कथा हो: दयाहाङ राई



काठमाडौं – यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ बारे अभिनेता दयाहाङ राईले आफ्नो धारणा सार्वजनिक गरेका छन्। माओत्से गुरुङको निर्देशनमा निर्मित यस चलचित्रले लाहुरे परिवारको जीवन, पुस्तान्तरण र सम्बन्धको कथालाई प्रस्तुत गरेको राईले बताएका छन्।

नेपाली समाजमा लाहुरेहरूको वीरताका कथा प्रशस्तै सुनिए पनि अवकाशपछिको पारिवारिक उतारचढाव र पेन्सनसँग जोडिएका समस्या कमै मात्र पर्दामा आएकाले आफू यस चलचित्रको विषयवस्तुप्रति आकर्षित भएको राईको भनाइ छ। चलचित्रले पेन्सनका कारण उत्पन्न हुने परिस्थिति र त्यसले परिवार तथा सम्बन्धमा पार्ने प्रभावलाई मुख्य आधार बनाएको छ।

राईका अनुसार यो चलचित्र मूलतः दुई पुस्ताबीचको कथा हो। यसले गुरुङ समुदायभित्र विवाह, प्रेम र सम्बन्धलाई हेर्ने दृष्टिकोणका साथै फरक पुस्ताले भोगेको समय र भोगाइबीचको अन्तरलाई प्रस्तुत गरेको छ। दैनिक जीवन धान्नु र पारिवारिक जिम्मेवारी निर्वाह गर्नुबीचको फरकलाई पनि चलचित्रले उठान गरेको उनले जानकारी दिए।

निर्देशक गुरुङका अघिल्ला चलचित्रहरूले नेपाली भूगोल र समाजलाई नजिकबाट नियालेको सन्दर्भ जोड्दै राईले ‘पेन्सन पट्टा’ मार्फत नेपाली चलचित्रमा नयाँ विषय प्रवेश गरेको बताएका छन्। यसलाई केवल लाहुरे परिवारको कथामा मात्र सीमित नगरी बदलिँदो सामाजिक मनोविज्ञान र सम्बन्धका विविध आयाम बुझ्ने सन्दर्भका रूपमा लिन सकिने उनको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu