चलचित्र ‘टनेल २६’ टोलीको गृहमन्त्रीसँग भेट, ग्रस आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री विपद् कोषमा दिइने



काठमाडौं – आगामी असोज २३ गते नेपाल र भुटानमा एकसाथ प्रदर्शन हुन लागेको नेपाल, भुटान र भारतको संयुक्त निर्माण रहेको चलचित्र ‘टनेल २६’ को भुटानी टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरेको छ। भेटमा गृहमन्त्री गुरुङले चलचित्रलाई सफलताको शुभकामना दिँदै यसलाई तीन देशबीचको सांस्कृतिक र भौगोलिक सम्बन्धको महत्त्वपूर्ण परियोजनाका रूपमा व्याख्या गरे। साथै, उनले चलचित्रको विषयवस्तुलाई सुरुङमा फस्ने घटना, हिमाली क्षेत्रका बासिन्दाले भोग्ने पीडा, कमजोर पूर्वाधार र विपद्को सङ्घर्षसँग जोड्दै प्रशंसा गरेका थिए।

यसैबीच, चलचित्रका निर्माता तथा मुख्य अभिनेता सांगे छेल्ट्रिमले चलचित्रको कुल (ग्रस) आम्दानीको २५ प्रतिशत रकम प्रधानमन्त्री विपद् उद्धार कोषलाई प्रदान गर्ने घोषणा गरेका छन्। चलचित्रमा ५० प्रतिशत स्वामित्व रहेका भुटानी नागरिक सांगेले नेपालको विनाशकारी बाढीबाट आफूहरू पनि दुःखी भएको बताउँदै नाफाबाट नभई ग्रस आम्दानीबाटै आफ्नो सेयरको आधा हिस्सा सहयोग गर्ने स्पष्ट पारेका हुन्।

सङ्गे फिल्म्स र पिक एक्सभीको प्रस्तुति रहेको यस चलचित्रमा नेपालका तर्फबाट अभिनेता प्रदीप खड्का (क्रिएटिभ प्रोड्युसर) र चौधरी ग्रुपका निर्वाण चौधरीले निर्माण सहकार्य गरेका छन्। भुटान सरकारको निकायसहित विभिन्न प्रोडक्सन कम्पनीको सहकार्य रहेको यस चलचित्रको निर्देशन डीडी किन्लेले र कार्यकारी निर्माण दोर्जी वाङ्चुकले गरेका हुन्। चलचित्रमा सांगे छेल्ट्रिमका साथै नेपालबाट अनुपविक्रम शाही र आना शर्मा तथा भुटानबाट निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा लगायतको मुख्य अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu