१२ करोड नाघ्यो ‘कबड्डी ५’, ‘आ बाट आमा २’ ७ करोडको नजिक : दसैंका दुई चलचित्र मात्र सफल



‘कबड्डी ५’ र ‘आ बाट आमा २’का पोस्टरसहित दसैंका चलचित्रको बक्स अफिस विवरण

काठमाडौं । दसैंको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ५’ले घरेलु बक्स अफिसमा १२ करोड रुपैयाँको सीमा पार गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २२ गतेसम्म यसको कुल कमाइ १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ पुगेको छ।

कात्तिक ६ गतेदेखि हलमा लागेको ‘कबड्डी ५’का यस अवधिमा ४ लाख ५ हजार ८८४ टिकट बिक्री भएका छन्। यसअघि प्रदर्शनको दस दिनमै १० करोड क्लबमा पुगेको यो चलचित्र यसपालिको दसैंमा रिलिज भएका चलचित्रमध्ये सबैभन्दा धेरै कमाउने बनेको छ।

दसैंको अर्को चलचित्र ‘आ बाट आमा २’ भने ७ करोडको नजिक पुगेको छ। असोज ३० गतेदेखि प्रदर्शित यस चलचित्रले आइतबारसम्म ६ करोड ८१ लाख ७ हजार ४१३ रुपैयाँ कमाएको छ। यसका २ लाख ३७ हजार ३०७ टिकट बिक्री भएका छन्।

तर दसैंका अन्य दुई चर्चित चलचित्रले भने बक्स अफिसमा सोचेजस्तो सफलता पाउन सकेनन्। दीपकराज गिरी समूहको ‘छ माया छपक्कै २’ले ३ करोड ४२ लाख २५ हजार ९४५ रुपैयाँ मात्र कमाएको छ, जसका लागि १ लाख ६ हजार ६४४ टिकट बिक्री भए। पहिलो भागले १० करोडभन्दा बढी व्यापार गरेको यो शृंखला दोस्रो भागमा आएर समूहकै सबैभन्दा कम कमाउने चलचित्र बनेको बताइएको छ।

त्यस्तै ‘१२ गाउँ २’ले पनि दर्शकको अपेक्षित साथ पाउन सकेन। ७५ हजार ५४० टिकट बिक्री भएको यस चलचित्रको कमाइ २ करोड ३१ लाख ४० हजार ६७१ रुपैयाँमा सीमित छ। यसको पहिलो भागले भने घरेलु बजारमा झन्डै २० करोड रुपैयाँको व्यापार गरेको थियो।

बोर्डको बक्स अफिस प्रणाली ‘सिनेपाः’को विवरणअनुसार यस वर्षको सबैभन्दा धेरै कमाउने चलचित्र ‘गौँथली’ हो। यसले २६ करोड २७ लाख ४९ हजार ७३६ रुपैयाँ कमाएको छ, जुन नेपाली चलचित्र इतिहासकै दोस्रो ठूलो कमाइ भएको बताइएको छ। त्यस्तै ‘पेन्सन पट्टा’ले १० करोड ३३ लाख ७४ हजार ८७८ रुपैयाँ र ‘बाः एक योद्धा’ले ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ कमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu