‘कबड्डी ५’ पनि दसैंमा नै रिलिज हुने, पोस्टर सार्वजनिक गर्दै तोकियो रिलिज मिति



काठमाडौं – निर्माता कम्पनी बाँसुरी फिल्म्सले नेपालको सर्वाधिक सफल फ्रेन्चाइज चलचित्र ‘कबड्डी’ को पाँचौँ शृंखला ‘कबड्डी ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ। यो चलचित्र आगामी दशैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

दशैंको अवसर पारेर यसअघि नै फूलपातीको अघिल्लो दिन (असोज ३० गते) ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ प्रदर्शन हुने तय भइसकेको छ। यसको एक सातापछि ‘कबड्डी ५’ रिलिज हुने भएपछि दशैंको बक्स अफिस भिडन्त थप रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तीन पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ) लाई रोचक शैलीमा प्रस्तुत गरिएको छ, जहाँ दयाहाङ हातमा क्रिकेट ब्याट लिएर सोचमग्न अवस्थामा देखिएका छन्।

रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा दयाहाङ, विजय र बुद्धिका साथै विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल र प्रमिला राई लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका निर्माताहरूमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu