
काठमाडौं । चलचित्र ‘ककाकिकी’को ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। सार्वजनिक भएको पाँच दिनमै ट्रेलर युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ। ट्रेलर नेपालको युट्युब मुभि ट्रेन्डिङ चार्टको तेस्रो स्थानमा पुगेको छ।
ट्रेन्डिङ चार्टको पहिलो स्थानमा बलिउड फिल्म ‘मातृभूमि’ र दोस्रोमा नेपाली फिल्म ‘बाटुलो जून’को ट्रेलर छ। युट्युबसँगै फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा पनि ट्रेलरले राम्रो चर्चा पाइरहेको छ।
ट्रेलरमा आएका सयौं प्रतिक्रियामध्ये अधिकांशले यसको प्रस्तुति, दृश्य संयोजन र कथावस्तुको प्रशंसा गरेका छन्। धेरै दर्शकले चलचित्र प्रदर्शनको प्रतीक्षा गरिरहेको बताएका छन्।
एक युट्युब प्रयोगकर्ताले लेखेका छन्, ‘यो एकदमै अनौठो र साँच्चै सिनेम्याटिक देखिन्छ। बिक्की र उनको टिमबाट यस्तै उत्कृष्ट कामको अपेक्षा थियो।’ अर्का दर्शकले ट्रेलरको प्रस्तुतिलाई नौलो भन्दै लेखेका छन्, ‘ट्रेलर प्रस्तुत गर्ने तरिका एकदमै नयाँ छ। यस्तो त विदेशी चलचित्रमा मात्र देखेको थिएँ। चलचित्रका लागि निकै उत्साहित छु।’
निर्देशक बिक्की अग्रवालले ट्रेलर निर्माणमै फरक शैली प्रयोग गरेका छन्। परम्परागत ट्रेलरभन्दा फरक प्रस्तुतिका कारण यसले दर्शकको ध्यान तानेको निर्माण पक्षको भनाइ छ।
चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायतको अभिनय छ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। सुमन अग्रवालको कन्सेप्ट रहेको चलचित्रको लेखन बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन् भने विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्।
छायांकन सुदीप बरालको हो। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी, सहायक निर्देशक विशाल राई, मेकअप अनिश तामाङ, कस्ट्युम डिजाइन सुमन परियार र प्रोडक्सन हेड अरुण रेग्मी हुन्।
चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ। ‘ककाकिकी’ मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।


