
काठमाडौं । उत्तम प्रधान र निरुता सिंह अभिनीत चलचित्र ‘सारथी’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो। यो चलचित्र मंसिर ११ गतेदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ।
ट्रेलरले ग्रामीण परिवेशमा बनेको यस चलचित्रको कथाको झलक दिएको छ। ‘कसको भुँडी बोकेको हो र ?’ भन्ने संवादबाट ट्रेलर सुरु हुन्छ। यही संवादले चलचित्रको मूल कथातर्फ संकेत गर्छ। विवाहअघि नै गर्भवती भएकी एक महिलाले समाजबाट भोग्नुपरेको हेला र अपमान चलचित्रको मुख्य विषय रहेको देखिन्छ।
चलचित्रमा आमा र छोराबीचको सम्बन्धलाई केन्द्रमा राखिएको छ। आमाबाट टाढिएका बाबुसँग छोराको संघर्ष र द्वन्द्व पनि ट्रेलरमा देखाइएको छ। त्यस्तै, आमाप्रति छोराको माया र जिम्मेवारीबोधलाई पनि ट्रेलरले उजागर गरेको छ।
करिब दुई दशकपछि उत्तम र निरुता एकैसाथ ठूलो पर्दामा फर्किएका छन्। उनीहरूसँगै चलचित्रमा गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुइकेल, कमला अर्याल, मिलन खड्का, रश्मि गुरुङ, तुलसी राई र आशा विश्वकर्मा लगायतको अभिनय छ। चलचित्रको छायांकन म्याग्दीको हिमाली क्षेत्रमा गरिएको थियो।
कुमार गजुरेलले चलचित्रको निर्देशन गरेका हुन्। किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा बनेको यस चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी यसका निर्माता हुन्, भने बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता हुन्।
चलचित्रमा संकल्प भुजेलको छायांकन छ, भने तारा थापाले सम्पादन गरेका हुन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीले संगीत भरेका हुन्।


