काठमाडौँ फिल्म फेस्टिभलमा सहभागी हुन मार्को मुलर नेपालमा, कात्तिक १३ बाट महोत्सव सुरु हुँदै



काठमाडौँ – काठमाडौँ महानगरपालिकाको आयोजनामा हुन लागेको पहिलो संस्करणको ‘काठमाडौँ फिल्म फेस्टिभल’मा सहभागी हुन सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर आज काठमाडौँ आइपुगेका छन्। फेस्टिभलबारे जानकारी दिन महानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलरसहित जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुरा, भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा र प्रख्यात भारतीय अभिनेत्री शबाना आजमी महोत्सवमा सहभागी हुने जानकारी दिइन्।

कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रासहित उद्घाटन हुने यस महोत्सवमा विभिन्न मास्टर क्लास, प्यानल डिस्कसन र चलचित्र प्रदर्शनका कार्यक्रमहरू तय गरिएका छन्। कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा शबाना आजमीले ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवादमा सहभागिता जनाउनेछिन् भने निर्देशक नाकामुरा र दीप्ति डीकुन्हाका छुट्टाछुट्टै प्यानल र प्रस्तुतिहरू रहनेछन्। त्यस्तै, कात्तिक १५ गते प्राध्यापक मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका बीच चलचित्र सौन्दर्य शास्त्र’ विषयमा मास्टर क्लास सञ्चालन गर्नेछन्।

कात्तिक १५ गते नै राष्ट्रिय सभा गृहमा रेड कार्पेट, अवार्ड वितरण र पुरानो नेपाली चलचित्र ‘के घर, के डेरा’ प्रदर्शनसँगै महोत्सवको समापन हुनेछ। पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने र काठमाडौँका नभनिएका कथाहरूको खोजी गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महानगरले जनाएको छ। कार्यवाहक प्रमुख डंगोलले नागरिक, संस्कृति र सम्पदालाई केन्द्रमा राखेर सुरु गरिएको यस फेस्टिभललाई आगामी दिनमा थप परिष्कृत र विस्तार गर्दै लैजाने बताइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu