‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक



काठमाडौं – आगामी कात्तिक २० गते तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’को नयाँ गीत सार्वजनिक भएको छ। चलचित्रको भाव र कथासँग जोडिएको ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ बोलको गीत सार्वजनिक गरिएको हो।

सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर रहेको गीतमा डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतले दाजुभाइबीचको आत्मीयता, प्रेम, विश्वास र भाइचाराको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

चलचित्रको शीर्षक नै महाभारतका पाँच पाण्डव पात्रसँग जोडिएको अवस्थामा सार्वजनिक गीतले पनि दाजुभाइबीचको सम्बन्धलाई केन्द्रमा राखेको छ। गीतमार्फत पारिवारिक सम्बन्धको आत्मीयता र कठिन परिस्थितिमा एकअर्काप्रतिको साथ तथा भाइचाराको भाव अभिव्यक्त गरिएको छ।

यसअघि सार्वजनिक चलचित्रको ट्रेलरले भने ‘पाँच पाण्डव’को कथाको रहस्य र कौतुहलता बढाएको थियो। ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्ठिरको भूमिकामा हरिवंश आचार्यले अन्य चार पाण्डवको खोजी गरिरहेको देखाइएको थियो। समाजको आन्दोलन, दमन र यातनाबीच उनी एक सुन्दर युवतीप्रति मोहित हुँदै आफ्नो लक्ष्यबाट अलमलिएको दृश्य पनि ट्रेलरमा प्रस्तुत गरिएको थियो।

लेखक सुशील पौडेलका अनुसार ‘पाँच पाण्डव’ एक ‘सोसल ड्रामा’ हो। महाभारतका पात्र र विम्बहरूको प्रयोग गर्दै चलचित्रले समकालीन नेपाली समाज तथा आफ्नो उद्देश्यमा नपुग्दै बीचमै पतन हुने नेतृत्वको यथार्थलाई इङ्गित गर्न खोजेको छ।

वसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नकुल र सुशील सिटौला सहदेवको भूमिकामा छन्। इभा गिरी द्रोपदीको अवतारमा देखिएकी छन्।

चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, प्रशान्त ताम्राकारलगायतका कलाकारको पनि अभिनय रहेको छ। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका नवीन श्रेष्ठ प्रस्तुतकर्ता र काली रानी श्रेष्ठ निर्माता हुन्।

तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको ‘पाँच पाण्डव’ले महाभारतका परिचित पात्र र विम्बलाई नेपाली समाजको समकालीन कथासँग कसरी जोडेको छ भन्ने चासो बढिरहेका बेला सार्वजनिक गीतले चलचित्रको पारिवारिक तथा भावनात्मक पक्षलाई थप उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu