काठमाडौं । नेपाल र भारतका चलचित्रकर्मी तथा निर्माण संस्थाको सहकार्यमा बन्न लागेको चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक भएको छ। तिहारको अवसरमा निर्माण पक्षले ‘वल्र्ड अफ मोनालिसा’ शीर्षकमा चलचित्रको पहिलो झलकसहितको चलायमान पोस्टर सार्वजनिक गरेको हो।

पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको ठूलो क्यानभासमा तयार पार्ने लक्ष्य छ। चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन्। चलचित्र पत्रकारसमेत रहेका सचित खड्का कार्यकारी निर्माता हुन्।
निर्माण पक्षका अनुसार हाल भारतको हैदराबाद र बैंगलोरमा चलचित्रको पूर्वनिर्माणको काम भइरहेको छ। छायांकन आगामी असारबाट सुरु गर्ने तयारी छ। करिब ३० प्रतिशत छायांकन नेपालमा र बाँकी ७० प्रतिशत भारतमा गरिनेछ। भारतको चर्चित रामोजी फिल्म सिटीमा पनि चलचित्रका महत्त्वपूर्ण दृश्य छायांकन गर्ने योजना छ।
चलचित्रमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय हुनेछ। भारतका केही चर्चित कलाकारसँगै नेपाली कलाकारको पनि महत्त्वपूर्ण भूमिका रहने भए पनि नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
ठूलो बजेट र अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्ड अपनाएर बन्ने चलचित्रको सम्पादन, रङ संयोजन, ध्वनि डिजाइन, दृश्य प्रभाव, डिजिटल इन्टरमिडियट र प्रचार सामग्रीको डिजाइनलगायत प्रदर्शनपछिका अधिकांश काम भारतका प्रतिष्ठित कम्पनी र अनुभवी प्राविधिक टोलीसँग मिलेर गरिनेछ।
चलचित्रलाई नेपाली र हिन्दीसहित पाँच भाषामा प्रदर्शन गर्ने तयारी भइरहेको छ। अन्तर्राष्ट्रिय दर्शकसमक्ष पुर्याउन विश्वका अग्रणी ओटीटी प्लेटफर्मसँग वितरण तथा प्रदर्शनबारे छलफल भइरहेको निर्माण पक्षले जनाएको छ। यसबारे अन्तिम निर्णय छिट्टै सार्वजनिक गरिने बताइएको छ।
नेपाल र भारतका चलचित्र उद्योगबीचको सहकार्यलाई थप विस्तार गर्ने लक्ष्य राखिएको ‘मोनालिसा ब्लडी लभ’ नेपाली चलचित्र क्षेत्रका लागि महत्त्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजनाका रूपमा हेरिएको छ।




