
काठमाडौं । तारा अधिकारी निर्देशित नेपाली चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक भएको छ । चलचित्र आगामी पुस २४ गते प्रदर्शनमा आउँदैछ ।
सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रको पोस्टरमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्का देखिएका छन् । तीन पात्रलाई एकअर्कासँग जोडिएको फरक शैलीमा प्रस्तुत गरिएको पोस्टरले चलचित्रको विषयवस्तुबारे दर्शकमा उत्सुकता जगाउने संकेत गरेको छ ।
चलचित्रमा जाहन्वी, सुनिशा र महेशसँगै आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतले अभिनय गरेका छन् । कथा, निर्माण र निर्देशन तारा अधिकारीकै हो । गीतकारका रूपमा चिनिएकी उनको निर्देशकका रूपमा यो पहिलो चलचित्र हो । पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन् भने संगीत सुमन केसी र किरण कँडेलको छ ।
छायांकन बिनोद बलले गरेका हुन् । ध्वनि डिजाइन अमित श्रेष्ठ, प्रमुख सहायक निर्देशक इलियास शेख र सहायक निर्देशक अनुजा अधिकारी छन् । प्रोडक्सन म्यानेजरमा मनिष डीके र सुवास राई छन् । ब्याकग्राउन्ड स्कोर पार्किष गिरी र अमित श्रेष्ठले तयार पारेका हुन् भने सम्पादन नहकुल खड्काको छ ।
पारिवारिक कथावस्तुमा आधारित चलचित्रको कोरियोग्राफी राजीव समरले, कलर संयोजन राजेन्द्र मोक्क्तानले र प्रचार सामग्रीको डिजाइन टौवा क्रियसनले गरेका छन् । चलचित्रको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्ने भएका छन् ।




