
काठमाडौं – ललितपुरको कार्यविनायक मन्दिरमा शुक्रबार शुभमुहूर्त गर्दै निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली चलचित्र ‘बसन्ती’ को औपचारिक निर्माण घोषणा गरेका छन्। रिमा फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन शनिबार (असोज ३ गते) देखि सुरु गरिनेछ। निर्माण पक्षका अनुसार काठमाडौं, पाल्पा, जनकपुर, बुटवल र भारतका विभिन्न स्थानमा चलचित्रको छायांकन गरिनेछ।
यस चलचित्रमा सङ्गीतकार खेम सेन्चुरी र मोडल टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन् भने उनीहरूका साथै सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहनेछ। यसअघि २०५७ सालमा नीर शाहले ‘बसन्ती’ नाममै चलचित्र निर्माण गरेका थिए भने त्यसको २६ वर्षपछि रायमाझीले सोही नाममा नयाँ चलचित्र बनाउन लागेका हुन्। ‘गोर्खापल्टन’ र ‘परदेशी’ शृंखलापछि यो उनको चौथो निर्देशकीय चलचित्र हो।
कथावस्तु गोप्य राखिएको यस चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् भने निर्माता स्वयं निर्देशक रायमाझी हुन्। प्राविधिक पक्षतर्फ शिव ढकालको छायांकन, नहकुल खड्काको सम्पादन, र रोशन विश्वकर्मा तथा रविता मगरको कोरियोग्राफी रहनेछ। चलचित्रमा बिबि अनुरागी र नारायण रायमाझीको सङ्गीत तथा रमेश बिजी र लालगोपाल सुवेदी लगायतको शब्द रहनेछ। चलचित्रको मुख्य सह-निर्देशकमा चन्द्र कुमार भट्टराई र लाइन प्रोड्युसरमा खेमराज अर्याल रहेका छन्।



