
काठमाडौं – आन्भी फिल्म्सको प्रस्तुति र कबड्डी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘बखत्ते’ को शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गर्दै औपचारिक निर्माण घोषणा गरिएको छ। यस चलचित्रको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गर्दैछन्।
चलचित्रमा विपिन कार्की र मिरुना मगरले मुख्य भूमिका निर्वाह गर्नेछन्। उनीहरूका साथै शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल लगायतका कलाकार र बालकलाकार रिन्जेन लामाको अभिनय रहनेछ। निर्देशक सुब्बाले लामो समय लगाएर इमान्दारीपूर्वक कथा तयार पारेको र चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्।
आशिष तामाङ र प्रदीप धामी निर्माता रहेको यस चलचित्रमा कार्यकारी निर्माता युवराज काफ्ले तथा सह-निर्माता अञ्जु पाण्डे र पुष्कर घिमिरे रहेका छन्।



