अनमोल केसी र प्रिन्सी खतिवडा स्टारर ‘बाटुलो जून’को टिजर सार्वजनिक, कात्तिक २६ मा प्रदर्शन हुने



काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । निर्माण कम्पनी सनराइज पिक्चरले चलचित्रको प्रचारप्रसारलाई गति दिने उद्देश्यसहित पहिलो दृश्य-सामग्री दर्शकमाझ ल्याएको हो ।

सार्वजनिक टिजरमा चलचित्रको मूल कथालाई गोप्य राख्दै परिवेश र चरित्रका ‘क्यान्डिड सट’हरु मार्फत दर्शकमा कौतूहल जगाउने प्रयास गरिएको छ ।

‘बाटुलो जून’ ३० को दशकको आदर्श प्रेमकथामा आधारित चलचित्र हो । यसले तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई पर्दामा उतारेको छ । अहिलेको प्रविधिमैत्री र तीव्र गतिको प्रेमभन्दा नितान्त फरक, त्यही पुरानो समयको सुगन्धलाई चलचित्रको कथानकमा समेटिएको छ ।

चलचित्रको निर्देशन भुवन केसीले गरेका हुन् । यसअघि ‘ड्रिम्स’मार्फत आधुनिक प्रेमकथा पस्किएका उनले यसपटक भने आफ्नै अभिनय यात्राको स्वर्णिम समयलाई पर्दामा पुनर्जीवित गर्ने प्रयास गरेका छन् । यो चलचित्र पुरानो समयको कथा मात्र नभएर भुवन केसीको आफ्नै सिनेमा यात्राको संवेदनासँग पनि जोडिएको छ ।

चलचित्रमा अनमोल केसीको मुख्य र भुवन केसीको महत्वपूर्ण भूमिका छ । यही चलचित्रमार्फत प्रिन्सी खतिवडाले डेब्यु गरेकी छन् भने बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि नेपाली रजतपटमा पुनरागमन गरेकी छन् ।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको यो चलचित्र आगामी कात्तिक २६ गतेबाट प्रदर्शनमा आउँदैछ । जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सह-निर्माता रहेको ‘बाटुलो जून’मा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पार्श्व संगीत र प्रदीप श्रेष्ठको एसोसिएट निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu