
काठमाडौं – चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्र निर्देशक सन्तोषबाबु लोहनीले समस्यामा परेका चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई आर्थिक सहयोग गर्ने आफ्नो अभियानलाई निरन्तरता दिएका छन्। यसै क्रममा, उनले भदौ महिनामा नौवटा नेपाली चलचित्रको जाँचपास (सेन्सर) गरेबापत प्राप्त भएको पारिश्रमिक १५ हजार ७५० रुपैयाँ उपचाररत चलचित्र पत्रकार नवीन प्यासीलाई प्रदान गरेका छन्। लोहनीले काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्।
चलचित्र जाँचपास समितिका सदस्यसमेत रहेका लोहनीले आफूले प्राप्त गर्ने भत्ता समस्यामा परेका कलाकर्मीलाई प्रदान गर्ने घोषणा अनुरूप लगातार तेस्रो महिना यो सहयोग गरेका हुन्। यसअघि उनले असार महिनाको सम्पूर्ण जाँचपास भत्ता सवारी दुर्घटनामा परी लामो समयदेखि उपचाररत कलाकार कोपिला थापाको उपचारका लागि प्रदान गरेका थिए। त्यसैगरी, साउन महिनामा १० वटा चलचित्र जाँचपास गरेबापत प्राप्त १७ हजार ५०० रुपैयाँ वरिष्ठ कलाकार शान्ति रानालाई औषधोपचार तथा जीविकोपार्जनका लागि सहयोग गरेका थिए।
आफूले काम गर्ने क्षेत्रका व्यक्ति समस्यामा पर्दा सोही क्षेत्रबाटै सहयोग गर्नुपर्छ भन्ने सोचका साथ आफूले आफ्नो जाँचपास भत्ता सहयोग गरेको लोहनीले बताए।




