
काठमाडौं – दयाहाङ राई अभिनीत चलचित्र ‘पेन्सन पट्टा’ ले बक्सअफिसमा उत्कृष्ट व्यापार गर्दै ९ करोड ५५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र पाँचौं हप्तामा प्रवेश गर्दासम्म ९ करोड ३२ लाख कमाएको ‘लालीबजार’ लाई पछि पार्दै यस वर्षकै दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्र बन्न सफल भएको छ। वितरक रोहित कट्टेलका अनुसार देशभर अझै ७० भन्दा बढी शो पाइरहेको यस चलचित्रले यो साता ११ करोडको व्यापारिक लक्ष्य राखेको छ।
माओत्से गुरुङको निर्देशनमा निर्माण भएको यस चलचित्रले प्रदर्शनको सुरुवाती दिनमा सुस्त व्यापार गरे तापनि ‘वर्ड अफ माउथ’ का कारण मध्य सातादेखि रफ्तार लिएको थियो। भारतीय सेनामा कार्यरत बाबुको निधनपछि पेन्सन पट्टामा आमाको सट्टा अर्कै महिलाको नाम भेटिएपछि, पेन्सन दाबी गर्न ती ‘सानी आमा’ को खोजीमा निस्किएको पात्रको रोचक र मर्मस्पर्शी यात्रालाई चलचित्रको मूल कथा बनाइएको छ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राई लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले निर्माण गरेको ‘पेन्सन पट्टा’ लाई आरआर फिल्म्सका तर्फबाट रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गरिरहेका छन्।



