
काठमाडौं – बलियो ‘वर्ड अफ माउथ’ को साथ पाएको नेपाली चलचित्र ‘बाः एक योद्धा’ सफलतापूर्वक तेस्रो सातामा प्रवेश गरेको छ। दर्शकहरूले यसलाई ‘घरघरको कथा’ भन्दै उत्कृष्ट प्रतिक्रिया दिएपछि हलहरूमा चलचित्रको रफ्तार कायमै रहेको हो। निर्माण पक्षले उपलब्ध गराएको जानकारीअनुसार, यस चलचित्रले प्रदर्शनको पहिलो १० दिनमा करिब १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ।
यसैबीच, हेटौंडा, चितवन, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ र पोखरा लगायतका मोफसलका प्रमुख सहरहरूमा पुगेर दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै कलाकार र निर्देशकसहितको निर्माण टोली काठमाडौं फर्किएको छ। मोफसलमा पनि काठमाडौंमा जस्तै दर्शकको अपार माया र साथ पाएको निर्देशक हरि लम्सालले बताए। सन्तानको भविष्यका लागि एउटा बाबुले गर्ने त्याग, जीवनभरको संघर्ष र वृद्धावस्थामा भोग्नुपर्ने उपेक्षाको मार्मिक विषयलाई चलचित्रले आफ्नो कथाको केन्द्रमा राखेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा, पटकथा तथा निर्देशन हरि लम्साल स्वयंले गरेका हुन्। चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने कार्यकारी निर्मातामा अनिल बुढाथोकी, लाइन प्रोड्युसरमा अर्जुन पौडेल र सह-निर्मातामा कृष्ण काफ्ले रहेका छन्।



