
काठमाडौं – आगामी नेपाली चलचित्र ‘द प्रोफेसनल गाइज’ले आफ्नो प्रचार अभियानलाई नयाँ शैलीमा अगाडि बढाएको छ। गत साता चलचित्रको शीर्षक सार्वजनिक गरेको निर्माण टोलीले अब तीन फिल्मकर्मी मार्टिन भण्डारी, अमन श्रेष्ठ र डार्विन श्रेष्ठको रोचक यात्रामा आधारित प्रचारात्मक दृश्य सार्वजनिक गरेको छ।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त दृश्यमा ‘द प्रोफेसनल गाइज’को सुरुवात कसरी भयो र मार्टिन, अमन तथा डार्विनको सहकार्यले कसरी चलचित्रको आकार लियो भन्ने कथा हास्य तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
मार्टिन, अमन र डार्विनको नामबाट बनेको ‘एम.ए.डी.’ पहिचानलाई केन्द्रमा राखिएको उक्त प्रस्तुतिमा तीन फिल्मकर्मीको सिर्जनात्मक यात्रा, उनीहरूबीचको सहकार्य र चलचित्र निर्माणप्रतिको दृष्टिकोणलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। ‘पागलपनमा व्यावसायिक, व्यावसायिकतामा पागल’ भन्ने भाव बोकेको नारासहित अघि बढिरहेको यो टोलीले परम्परागत चलचित्र प्रचारशैलीभन्दा फरक बाटो अपनाएको हो।
चलचित्रमा मार्टिन भण्डारी र डार्विन श्रेष्ठ लेखन तथा निर्देशनमा संलग्न छन् भने अमन श्रेष्ठ निर्माता, सहलेखक, सिर्जनात्मक निर्देशक तथा मुख्य अभिनेताका रूपमा जोडिएका छन्। तीनै जनाको सिर्जनात्मक सहकार्य नै चलचित्रको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ।
जेकेएस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको ‘द प्रोफेसनल गाइज’को शीर्षक घोषणापछि सार्वजनिक गरिएको यो विशेष प्रस्तुतिले चलचित्रप्रति दर्शकमाझ थप उत्सुकता जगाउने अपेक्षा गरिएको छ।



