
काठमाडौँ – नेपाल चलचित्र कलाकार सङ्घले बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थीक सहयोग गरेको छ । सङ्घका अध्यक्ष उत्तम केसीले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई शुक्रबार रु पाँच लाख २५ हजार पाँच सय २५ रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सङ्घका अनुसार ‘जेन–जी सहिद दिवस’ तथा नेपाल चलचित्र कलाकार सङ्घको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट सङ्कलित रकम कोषमा जम्मा गरिएको हो ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि चलचित्र क्षेत्रका कलाकारहरूबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको अध्यक्ष केसीले बताए । सो अवसरमा केसीले बाढी प्रभावित क्षेत्र नुवाकोटका जनप्रतिनिधिका रूपमा सञ्चारमन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै विभागीय मन्त्रीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको जनाए । सङ्घका निवर्तमान अध्यक्ष मोहन निरौलाले सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको बताए ।
चेक हस्तान्तरण कार्यक्रममा सङ्घकी उपाध्यक्ष पुजना प्रधान, महासचिव सुनिल कटुवाल, सहकोषाध्यक्ष पवन केसी, सदस्यहरू इन्द्र दोङ, नवीनकुमार श्रेष्ठ, मोनिका दाहाल र सङ्गम राईका साथै चलचित्रकर्मी पुकार भट्टराई र लव प्याकुरेलको उपस्थिति थियो ।



