‘१२ गाउँ २’को पोस्टर सार्वजनिक, समीर देखिए एक्सनमा



काठमाडौं – अभिनेता तथा निर्देशक विराज भट्टको चलचित्र ‘१२ गाउँ २’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। विराज भट्टले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी असोज ३० गते अर्थात् अक्टोबर १६ बाट प्रदर्शनमा आउने जानकारी दिएका छन्।

पोस्टर सार्वजनिक गर्दै विराजले लेखेका छन्, “१२ गाउँ २ — पहिलो झलक! असोज ३० गते प्रदर्शन हुँदैछ! तपाईंहरू सबैको साथ, माया र आशीर्वादको अपेक्षा राख्दछौँ। जय नेपाल, जय नेपाली सिनेमा!”

सार्वजनिक पोस्टरमा अभिनेता समीर भट्टलाई केन्द्रमा राखिएको छ। उनी बलिष्ठ र मांसल शरीरसहितको आक्रामक एक्सन अवतारमा देखिएका छन्। नग्न शरीरमा देखाइएको उनको शारीरिक बनावटले चलचित्रमा उनको चरित्रका लागि गरिएको शारीरिक तयारीलाई समेत संकेत गर्छ। गम्भीर भाव, माथितर्फ केन्द्रित नजर र कसिलो मांसपेशीसहितको समीरको लुकले पोस्टरलाई एक्सनप्रधान बनाएको छ।

पोस्टरमा समीरको दुवैतर्फ अन्य पात्रका बलिष्ठ हात र शरीरका अंश देखाइएको छ। यसले चलचित्रमा धेरै पात्रबीच हुने द्वन्द्व, भिडन्त र सामूहिक एक्सनको संकेत गरेको देखिन्छ।

‘१२ गाउँ २’मा विराज भट्टसँगै उनका छोरा समिर भट्टको एक्सन अवतार पनि मुख्य आकर्षणका रूपमा रहनेछ। चलचित्रमा अनुप विक्रम शाही, कृशु ‘काफिया’ शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह र सुनिल पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ। त्यस्तै कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, राजा हमाल, शिवकुमार सिंह, नेहा एल शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी र अर्जुन आचार्य पनि चलचित्रमा आबद्ध छन्।

बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता सरस्वती भट्ट हुन् भने निर्देशन विराज भट्टले गरेका हुन्। पोस्टरमा उल्लेख भएअनुसार चलचित्रमा एक्सन, ड्रामा र मनोरञ्जनलाई केन्द्रमा राखिएको छ।

यसअघि प्रदर्शनमा आएको‘१२ गाउँ’ले दर्शकबाट उल्लेख्य माया पाउनुका साथै बक्स अफिसमा १९ करोडको व्यापार गर्दै ठुलो सफलता हासिल गरेको थियो। पहिलो शृंखलाको सफलतापछि निर्माण गरिएको दोस्रो शृंखलाले अझ ठूलो स्तरको एक्सन र मनोरञ्जन प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu