चलचित्र ‘शिरजरा’ जापानको प्रतिष्ठित टोकियो चलचित्र ‘ग्याप फाइनान्सिङ मार्केट’मा छनोट



काठमाडौं – नेपाली चलचित्र क्षेत्रका लागि एक सुखद समाचार छ। निर्देशक विकास सुवेदीको नयाँ चलचित्र ‘शिरजरा: द सङ्ग अफ ग्रान्डमदर’ जापानको प्रतिष्ठित टोकियो चलचित्र ‘ग्याप फाइनान्सिङ मार्केट’ (लगानी तथा निर्माण बजार)मा छनोट भएको छ। विश्व प्रतिष्ठित कान्स, बर्लिन र भेनिस चलचित्र महोत्सवमा आफ्नो स्थान बनाइसकेका विख्यात चलचित्र निर्माताहरूको परियोजनासँगै ‘शिरजरा’ पनि उत्कृष्ट चौबिसभित्र पर्न सफल भएको हो। 

जापानको टोकियो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत आयोजना हुने यस बजारमा संसारभरबाट परेका सयौँ आवेदनलाई उछिन्दै यो चलचित्र छनोट भएको हो। यो वर्ष विश्वभरका उत्कृष्ट चौबिस परियोजनाको सूचीमा ‘शिरजरा’ नेपाल र भारतलगायत सम्पूर्ण दक्षिण एसियाबाटै छनोट हुने एकमात्र चलचित्र बनेको छ।

यस वर्ष टोकियो बजारको औपचारिक सूचीमा नेपाली निर्देशक सुवेदीसँगै विश्व सिनेमाका कैयौँ ठूला हस्तीहरू एउटै मञ्चमा रहनेछन्। छनोट सूचीमा कान्स चलचित्र महोत्सवमा पुरस्कार जितेका सिंगापुरका प्रख्यात निर्देशक जुनफेङ बु, कान्स र भेनिसमा स्थापित कजाकिस्तानका दिग्गज निर्देशक आदिलखान येर्जानाभ, कान्स विजेता चलचित्र ‘टाइगर स्ट्राइप्स’को निर्माण कम्पनी इन्डोनेसियाको कावानकावान मिडिया, भेनिस विजेता भियतनामी निर्देशक डिएप नुएन होआङ र बर्लिन महोत्सवमा प्रदर्शन भएका ब्राजिलियन निर्देशक माथियास मारियानीका चलचित्रहरू रहेका छन्। यस्ता विश्वचर्चित चलचित्र निर्माताहरूसँगै नेपाली निर्देशक र चलचित्रको नाम एउटै सूचीमा अटाउनु नेपाली चलचित्र क्षेत्रकै लागि गौरवको विषय हो।

किङ्डम नेटवर्कको निर्माणमा बनेको ‘शिरजरा’को कथाअनुसार, मानवीय संवेदना र भावना बुझ्न सक्ने डिजिटल संवेदना प्रविधि विकास गर्न तल्लीन एक आधुनिक कृत्रिम बौद्धिकता (एआई) विशेषज्ञ आफ्नी हजुरआमासँगै पुर्ख्यौली थलो नेपाल पुग्छिन्। पाँच हजार मिटरको उचाइमा पुगेपछि प्रकृतिको अगाडि आधुनिक प्रविधिको अहंकार कसरी निरिह बन्छ र आफूले खोजिरहेको मानवीय संवेदनाको तथ्यांक बाहिरी संसारमा नभएर आफ्नै पुर्खाको रगत र चेतनामा पहिलेदेखि नै सुरक्षित रहेको यथार्थ उनले कसरी बोध गर्छिन् भन्ने दार्शनिक तथा आध्यात्मिक यात्रालाई चलचित्रले प्रस्तुत गर्नेछ।

यसअघि सन् २०२० मा निर्देशक मीनबहादुर भामको चलचित्र ‘शाम्बाला’ले पनि यही टोकियो बजारमा छनोट भएर उत्कृष्ट परियोजनाको पुरस्कार जितेको थियो। उक्त चलचित्रले पछि सन् २०२४ को प्रतिष्ठित बर्लिन चलचित्र महोत्सवको मुख्य प्रतिस्पर्धामा सहभागी भएर इतिहास रचेको थियो। टोकियोको यस छनोटसँगै अब ‘शिरजरा’ को टोलीले टोकियोमा आयोजना हुने कार्यक्रममा विश्वका अन्तर्राष्ट्रिय वितरक र युरोपेली सह-निर्माताहरूसँग चलचित्र निर्माण र विश्वव्यापी प्रदर्शनका लागि प्रत्यक्ष बैठकहरू गर्ने अवसर प्राप्त गर्नेछ। आधुनिक प्रविधि र परम्परागत हिमाली चेतनाको सम्मिश्रण रहेको ‘शिरजरा’ को यो अन्तर्राष्ट्रिय छनोटले विश्व मञ्चमा नेपाली चलचित्रको गरिमालाई थप उचाइ दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu