
काठमाडौं – आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जलाकी’ मार्फत नेपाली रजतपटमा डेब्यु गर्न लागेकी अभिनेत्री साहारा हाङमा लिम्बुको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। कुशे औंसी (बुवाको मुख हेर्ने दिन) को अवसर पारेर सार्वजनिक गरिएको सोलो पोस्टरमा उनी मगर संस्कृतिको पहिरनमा प्रस्तुत भएकी छन्। निर्माण पक्षका अनुसार चलचित्रमा उनले पोखराकी एक सफल र स्वतन्त्र व्यवसायी महिलाकी आधुनिक सोच भएकी छोरीको भूमिका निर्वाह गरेकी छन्।
सिक्किमकी बासिन्दा तथा ‘मिस टिन इन्डिया २०२२’ की विजेता साहारा मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएर अडिसनमार्फत यस चलचित्रमा छनोट भएकी हुन्। चलचित्रको छायांकन चलिरहँदा कार दुर्घटनामा आफ्ना बुवालाई गुमाउनुपरेको कठिन क्षणलाई स्मरण गर्दै उनले बुवाको सपना पूरा गर्नकै लागि अन्तिम संस्कारको चार दिनमै आफू सुटिङमा फर्किएको बताएकी छन्। उनले निर्देशक अशोक थापा मगर र सम्पूर्ण निर्माण टोलीले पारिवारिक वातावरण दिएर आफूलाई ठूलो हौसला दिएको उल्लेख गरेकी छन्।
अशोक थापा मगरको निर्देशनमा निर्माण भएको ‘जलाकी’ मा साहाराका साथै सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ लगायतका कलाकारका साथै विशेष भूमिकामा क्याप्टेन विजय लामाको अभिनय रहेको छ।



