काठमाडौं । ‘प्रेमगीत’ शृंखलाबाट चर्चित जोडी निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्का फेरि सँगै काम गर्ने तयारीमा छन्। ‘प्रेमगीत’का तीन भागमा साथ काम गरेका यी दुईबीच तेस्रो भागपछि सम्बन्ध चिसिएको चर्चा चलेको थियो। अब उनीहरू नयाँ फिल्मका लागि फेरि एक ठाउँमा आएका छन्।
मंगलबार सेनले खड्कासँग गाडीभित्र खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि दुवैको पुनर्मिलनको चर्चा सुरु भएको हो। तस्बिरसँगै उनले कसैको भरमा नपरी आफूहरू मैदानमा उत्रिएको र दर्शकलाई निराश नपार्ने विश्वास व्यक्त गरेका थिए।

करिब एक वर्षअघि एक अन्तर्वार्तामा सेनले फिल्म ‘बलिदान’का लागि खड्कालाई सम्पर्क गर्दा जवाफ नआएको गुनासो गरेका थिए। त्यसपछि दुवैबीचको दूरी झनै चर्चामा आएको थियो। तर अहिले दुवै फेरि एउटै परियोजनामा जोडिने संकेत देखिएको छ।
सेनका अनुसार खड्कासँग नयाँ फिल्ममा सहकार्य गर्ने कुरा पक्का भए पनि कुन फिल्म बनाउने भन्ने टुंगो लागिसकेको छैन। ‘प्रेमगीत ४’ बनाउने कि बिल्कुलै नयाँ फिल्म बनाउने भन्नेबारे छलफल भइरहेको उनले बताएका छन्। फिल्मले मूर्त रूप लिन अझै केही समय लाग्ने उनको भनाइ छ।
हाल दुईवटा कथाको आइडियामा काम भइरहेको बताइएको छ। एउटा ‘प्रेमगीत’ जस्तै शुद्ध प्रेमकथा हो भने अर्कोमा प्रेमसँगै सामाजिक विषयवस्तु पनि समेटिनेछ। लेखकसँगको छलफलपछि जुन कथा उपयुक्त लाग्छ, त्यसैमा फिल्म बनाउने सेनको योजना छ।
यसपटक सेन आफैं निर्देशकको भूमिकामा नदेखिन पनि सक्छन्। आगामी चार–पाँच वर्ष निर्देशन नगर्ने सोचमा रहेको बताउँदै उनले नयाँ फिल्मको निर्देशन अर्कै व्यक्तिले गर्न सक्ने संकेत गरेका छन्। उनका अनुसार निर्देशकभन्दा पहिले बलियो कथा तयार हुनु आवश्यक छ।
योजनाअनुसार यही वर्षभित्र कथा लेखन सकेर अर्को वर्षको मध्यतिर छायांकन सुरु गर्ने तयारी गरिएको छ।


