
काठमाडौं – आज रिलिज हुने भनिएको नेपाल, भुटान र भारतको संयुक्त सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को रिलिज स्थगित भएको छ।
प्रदर्शनको पूर्वसन्ध्यामा आयोजित प्रिमियरबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि निर्माण पक्षले चलचित्रलाई नेपाल र भुटानमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गर्दै तत्कालको रिलिज रोकेको जनाएको छ। अब यो चलचित्रलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा एकसाथ दर्शकमाझ पुर्याउने तयारी भइरहेको जारी वक्तव्यमा जनाइएको छ।
विश्वव्यापी रिलिजका लागि आवश्यक प्राविधिक प्रक्रिया र व्यवस्थापन पूरा गरेपछि छिट्टै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। पूर्वनिर्धारित प्रदर्शन स्थगित गर्नुपर्दा दर्शक, सञ्चारकर्मी, प्रदर्शक तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै निर्माण पक्षले चलचित्रप्रति देखाइएको माया र विश्वासका लागि आभार व्यक्त गरेको छ।




