‘झिंगे दाउ २’ को दशैं लक्षित गीत ‘ए माया नजिकै सर’ सार्वजनिक



काठमाडौं – आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’ को नयाँ गीत ‘ए माया नजिकै सर’ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज गीतको सफलतापछि निर्माण पक्षले दशैंको माहोल झल्काउने यो गीत ल्याएको हो।

रातो टीका, जमरा र रोटे पिङसहित चाडपर्वको रौनकता प्रस्तुत गरिएको यस भिडियोमा चलचित्रका मुख्य कलाकारहरू केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्टको नृत्य देख्न सकिन्छ। साथै, गीतको भिडियोमा केकी र आँचलबीचको पारिवारिक झगडाको झलक पनि समावेश गरिएको छ। अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको यस गीतमा रामचन्द्र काफ्ले र शान्ति श्री परियारले स्वर दिएका छन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यस चलचित्र कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको हो। चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माता हुन्। चलचित्रमा केकी, आँचल, महेश र कुशलका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह लगायतका कलाकारको अभिनय रहेको छ।

गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन्। विष्णु घिमिरे ‘कल्पित’ को छायांकन, मित्र डी गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन चलचित्रमा रहेको छ। यसको अघिल्लो शृङ्खला ‘झिंगे दाउ’ ले युट्युबमा ८० लाखभन्दा बढी भ्युज पाएको सन्दर्भमा यस सिक्वेलको ट्रेलर र गीतहरूले पनि दर्शकमाझ उच्च उत्सुकता जगाइरहेको निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu