
काठमाडौं – निर्देशक सौरभ चौधरीको आगामी बहुप्रतीक्षित चलचित्र ‘द राइज अफ साम्राज्य’ मा अभिनेता अमरप्रताप श्रेष्ठ अनुबन्धित भएका छन्। यस ‘एपिक एक्सन ड्रामा’ का लागि श्रेष्ठले विगत साढे दुई वर्षदेखि निर्देशकको सल्लाहअनुसार अभिनय, एक्सन, मार्सल आर्ट र नृत्यको विशेष तालिम लिइरहेको निर्माण पक्षले जनाएको छ। यस चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइली यसअघि नै मुख्य भूमिकाका लागि तय भइसकेका छन्।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई नेपाली सिनेमाकै ठूलो क्यानभास र स्केलको एक्सन चलचित्र हुने दाबी गरिएको छ। चर्चित उपन्यासकार बुद्धिसागरले यस चलचित्रको कथा तथा पटकथा लेखेका हुन्। चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन् भने सह-निर्माता विश्वास बस्नेत (बेन) र कार्यकारी निर्माता शंकर पाण्डे रहेका छन्।
प्राविधिक पक्षतर्फ मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ। निर्माण पक्षका अनुसार पूर्वी नेपालका विभिन्न स्थानमा ७० दिनको छायांकन तालिका तय गरिएको छ र चलचित्र छिट्टै फ्लोरमा जाने तयारीमा छ। डिसीएनले वितरण गर्ने यस चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल र पब्लिसिटी पार्टनर टौवा स्टुडियो रहेका छन्।



