
काठमाडौं । हास्यप्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर निर्माण टोलीले शनिबार काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रमबीच सार्वजनिक गरेको हो ।
ट्रेलरमा चलचित्रका मुख्य विषय समेटिएका छन् । ट्रेलरअनुसार कुलेबारी गाउँका मानिसहरू गाउँको सपना पूरा गर्न विभिन्न योजना बनाउँछन् र कतिपय त बैंक लुटेरै भए पनि त्यो काम गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्छन् ।
ट्रेलरमा मुख्य कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेललगायत देखिन्छन् ।
कार्यक्रममा मुख्य कलाकार गौरी मल्लले अहिले आइरहेका धेरै चलचित्रभन्दा केही फरक बनाउने प्रयास निर्माण टोलीले गरेको दाबी गरिन् । कलाकार शिशिर वाङ्देलले निर्माण टोलीमा युवा जोशका साथीहरू भएकाले काम गर्दाको अनुभव राम्रो रहेको बताए । लामो समयपछि फेरि चलचित्रमा जोडिन पाएको बताउँदै कलाकार मनोज गजुरेलले ‘ककाकिकी’ आफ्नो दोस्रो चलचित्र भएको जानकारी दिए ।
निर्देशक बिक्की अगरवालले नेपाली दर्शकलाई मन पर्ने गरी चलचित्र बनाएको दाबी गरे । चलचित्रको टिजर र ट्रेलर सम्पादन पनि आफैंले गरेको बताउँदै उनले चलचित्रप्रति जस्तोसुकै प्रतिक्रिया आए पनि त्यसको जिम्मेवारी आफैं लिने बताए ।
चलचित्र सुरुमा भदौ १९ गते प्रदर्शन गर्ने भनिएको थियो । तर देशमा आएको ठूलो बाढीपहिरोले धेरैको जनधनको क्षति भएकाले त्यो बेला हाँस्ने र हँसाउने समय नभएको भन्दै प्रदर्शन मिति सारेर मंसिर ११ गते तय गरिएको थियो ।
चलचित्रको निर्देशन बिक्की अगरवालसँगै श्रद्धा प्रसाईंले गरेकी हुन् । चलचित्रमा प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटालगायतको पनि अभिनय छ ।
चलचित्रको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले गरेका हुन् । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रको अवधारणा सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरको काम विश्वास तिमल्सिना (बिटी कान्छा)ले गरेका छन् ।
सुदीप बराल छायाकार रहेको चलचित्रमा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई हुन् । मेकअपमा अनिस तामाङ, पोसाक डिजाइनमा सुमन परियार र प्रोडक्सन हेडमा अरुण रेग्मी छन् । चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ ।




