
काठमाडौं । चलचित्र ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।
पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र चलचित्रका मुख्य पात्रहरूलाई प्रस्तुत गरिएको छ ।
यस चलचित्रमार्फत गिरी विश्वकर्मा र गायत्री जोशी नायक र नायिकाका रूपमा पहिलो पटक ठूलो पर्दामा देखिँदैछन् । चलचित्रमा चर्चित कलाकार निरुता सिंह र उत्तम प्रधानको पनि अभिनय छ । करिब दुई दशकपछि निरुता र उत्तम एउटै चलचित्रमा देखिन लागेका हुन् ।
चलचित्रमा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायतको पनि अभिनय छ ।
म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको चलचित्रले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनालाई समेटेको छ ।
तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो । रदिप श्रेष्ठ र प्रदीप रायमाझी चलचित्रका निर्माता हुन् । बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता, अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह-निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।
चलचित्रको छायांकन संकल्प भुजेलले गरेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक हुन् ।
चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ । गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर छ भने गीत प्रशान्त शिवाकोटीले लेखेका हुन् । नृत्य निर्देशन कविराज गहतराज, कला निर्देशन श्याम कार्की र ड्रेस कोअर्डिनेसन गोविन्द खड्काले गरेका छन् । चलचित्र आरआर फिल्म्सले वितरण गर्नेछ ।




