
काठमाडौं । चलचित्र ‘ऐरी’को छायांकनमा खुट्टा भाँचिएपछि हातबाट फुत्किएको चलचित्र ‘जलाकी’मा अभिनेता तथा गायक सोनम तोप्देन अन्ततः मुख्य भूमिकामै फर्किएका छन् । अशोक थापा मगरको निर्देशनमा बनेको ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउँदैछ, जसमा सोनम मुख्य पात्र ‘लाजिम’को भूमिकामा देखिनेछन् ।
सन् २०२५ को जुनमा ढोरपाटनमा ‘ऐरी’को एक्सन दृश्य खिच्ने क्रममा भएको दुर्घटनामा सोनमको देब्रे खुट्टा भाँचिएको थियो । उनलाई हेलिकप्टरबाट उद्धार गरी पोखरास्थित चरक मेमोरियल अस्पताल पुर्याइएको थियो । चिकित्सकले कम्तीमा छ महिना पूर्ण आराम गर्न सल्लाह दिएपछि उनी ‘जलाकी’बाट बाहिरिनुपरेको थियो ।
सोनम बाहिरिएपछि निर्माण टोलीले अभिनेता धीरज मगरलाई अनुबन्धित गरेको थियो । महिनौँको फिजियोथेरापीपछि सोनम बिस्तारै स्वस्थ हुँदै गए । यसैबीच निर्देशक थापा मगरले उनलाई ‘जलाकी’मै सहायक भूमिकाको प्रस्ताव राखे ।
उता छायांकन पूर्वनिर्धारित तालिकाअनुसार अघि बढ्न सकेन । छायांकन लम्बिँदै जाँदा सोनमको खुट्टा पूर्ण रूपमा निको भयो । अन्ततः निर्माण टोली र धीरज मगरबीचको आपसी समझदारीमा सोनम सहायकबाट फेरि मुख्य भूमिकामै फर्किए ।
त्यो समय सम्झँदै सोनम भन्छन्, ‘धीरजको आगमनले खुसी त थिएँ, तर आफू नहुँदा दुःखी भएर बसिरहेको थिएँ । त्यही बेला अशोक थापा मगरले सहायक भूमिकाको प्रस्ताव गर्नुभयो, जसले मलाई झन् खुसी दियो । छायांकन तालिका पनि तन्किँदै गयो, खुट्टा पनि निको हुँदै गयो र म फेरि मुख्य भूमिकामै जोडिने मौका पाएँ ।’
सोनमका अनुसार चलचित्र ‘शाम्बाला’मा उनको अभिनय मन पराएर निर्देशक थापा मगरले उनलाई ‘जलाकी’को प्रस्ताव गरेका थिए । उनी भन्छन्, ‘बीचमा दुर्घटनाले मलाई टाढा पुर्याए पनि सायद यो कथा र पात्र मेरै भाग्यमा लेखिएको रहेछ ।’
भारतको मनालीमा जन्मिएका सोनमले बाल्यकालका नौ वर्ष गुम्बामा बिताए । पारिवारिक जिम्मेवारीका कारण उनले १० वर्षको उमेरमा सांसारिक जीवन रोजेका थिए । वि.सं. २०७२ को भूकम्पपछि ‘स्म्युल’ एपमा ‘हवायें’, ‘जीना जीना’, ‘दिल दियाँ गलाँ’, ‘फिर भी तुमको चाहुँगा’ र ‘मिले हो तुम’ जस्ता हिन्दी गीतका कभर गाएर उनी चर्चामा आएका हुन् ।
त्यसपछि नेपाली गीत ‘तिमी मेरो भविष्य’सहित ‘ता सेर्पो’, ‘छोए डाङ्पा’, ‘छाम्गोन ताई सितुपा’ र ‘कुत्से तेन’ जस्ता तिब्बती र भुटानी गीतमार्फत उनले सांगीतिक पहिचान फराकिलो बनाए । ‘सम्हालिन्छ कहिले मन’बाट उनले नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गरेका थिए ।
‘सम्हालिन्छ कहिले मन’को ‘जरुरी कुरा छ’ गीतमा अभिनेत्री पूजा शर्मासँगको केमेस्ट्री होस् वा ‘जलाकी’का ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’, ‘कलेजीको छेउ’ र ‘पहिलो माया’ गीतमा उपासना सिंह ठकुरीसँगको जोडी, सोनमको प्रस्तुतिले दर्शकमाझ चर्चा बटुलेको छ ।
नेपालमै बसेर नेपाली भाषा, कला र संस्कृतिसँग जोडिँदै आएका सोनमलाई अझै पनि कतिपयले बाहिरबाट आएको व्यक्तिका रूपमा हेर्दा चित्त दुख्ने गरेको छ । त्यसैले उनी ‘जलाकी’लाई आफ्नो पहिचान बलियो बनाउने अवसरका रूपमा हेर्छन् ।
‘जलाकी मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा जरा गाडेको एक मौलिक प्रेमकथा हो,’ सोनम भन्छन्, ‘मगर संस्कृतिमा माया र सम्झनाको प्रतीक मानिने ढुंगाको स्तम्भ जलाकीजस्तै यो चलचित्रले पनि दर्शकको मनमा गहिरो सम्झना छोड्नेछ ।’ उनी थप्छन्, ‘मलाई अझै धेरैले चिन्नुभएको छैन, तर जलाकीको पात्र र कथाले मलाई हरेक नेपाली दर्शकको मनसम्म पुर्याउनेछ भन्ने विश्वास छ ।’
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा सोनमले अभिनयसँगै पार्श्वगायनमा पनि स्वर दिएका छन् । चलचित्रमा सोनमसँगै उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन् ।




