गीतकार सङ्घको वार्षिकोत्सवमा नीर शाहसहित ६ जना सम्मानित



काठमाडौं – गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘सम्मान तथा पुरस्कार समारोह एवं सांगीतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आइतबार आयोजित समारोहमा प्रतिष्ठित गीतकार किरण खरेलको प्रमुख आतिथ्यता तथा सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व रहेको थियो ।

समारोहमा पाँच दशकदेखि नेपाली गीत-सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका गीतकार नीर शाहलाई नगद १ लाख ५१ हजार रुपैयाँसहित ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरियो । शाहका ‘गहिराइमा डुब्दै नडुब’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’, ‘आँखैमा कसैको तस्बिर’ लगायतका गीत चर्चित छन् ।

त्यस्तै, ‘डायस्पोरा गीतकार सम्मान’बाट गीतकार नीलम आङ्बुहाङ राई, ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’बाट लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राई सम्मानित भए । उनीहरूलाई क्रमशः १५ हजार र २५ हजार २५२ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान-२०८२’ बाट गीतकार सुशीला पौडेल र अरुण तिवारीलाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरियो । यसै वर्षबाट सुरु गरिएको ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान-२०८२’बाट हिमालय टाइम्सका उपसम्पादक तथा वरिष्ठ पत्रकार कृष्ण भुसाल ५ हजार ५५५ रुपैयाँसहित सम्मानित भए ।

यसैगरी, ‘जगतमर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार-२०८२’ अन्तर्गत कल्पना खरेलको ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालको ‘भोलिको आश उज्यालो प्रकाश’लाई संयुक्त रूपमा ५७ हजार रुपैयाँ प्रदान गरियो । ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार’बाट डम्बर याक्सोको ‘म तिम्रो नजरमा’ र प्रवल विष्टको ‘भुल्न सकिनँ’ गीत पुरस्कृत भए ।

समारोहमा सम्मान तथा पुरस्कार वितरणसँगै १० अग्रज गीतकारका चर्चित गीतहरू विभिन्न गायक-गायिकाले प्रत्यक्ष प्रस्तुत गरेका थिए । जगदिश समालले नीर शाहको ‘गहिराइमा डुब्दै नडुब’, सञ्जय तुम्रोकले डा. भोला रिजालको ‘मेरो पौवा पाटीलाई’ तथा अशोक मुकारुङले दिवंगत स्रष्टा गणेश रसिकको ‘धेरै सम्झे धेरै हुन्छ’ प्रस्तुत गरे ।

त्यस्तै, रूपक चौधरी र बिनुषा राईले ‘धडकनभित्र लुकाइदेऊ न’, निशा देसारले ‘आमा’, माण्डवी त्रिपाठीले ‘मेरो प्यारो मान्छे’, बालगायक प्रेम परियारले ‘मर्ने कसैलाई रहर हुँदैन’, सञ्जय तुम्रोकले ‘बादलहरू हो’, सुमित खड्काले ‘तिम्रो पनि रगत’ तथा गणेश पराजुलीले ‘तिमीले मलाई छाडी गए’ प्रस्तुत गरेका थिए । वरिष्ठ सङ्गीतकार अशोककुमार राईको सङ्गीत संयोजनमा १५ जना वाद्यवादकले प्रत्यक्ष सङ्गीत दिएका थिए ।

कार्यक्रममा सङ्घका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गर्नुका साथै सहयोगी व्यक्ति तथा संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो ।

सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले भदौ १० गतेको बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण यसअघि स्थगित गरिएको कार्यक्रम पुनः आयोजना गरिएको जानकारी दिए । उनले स्थगित कार्यक्रमका लागि छुट्याइएको रकममध्ये १ लाख १५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको बताए ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, सदस्य सचिव भूपेन्द्र रायमाझी, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसीलगायत कला तथा साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो । कार्यक्रम सञ्चारकर्मी तथा सङ्घका आजीवन सदस्य हेम सुवेदीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu