हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन ४’ को प्रसारण सुरु, जज र प्रस्तोतामा हेरफेर



काठमाडौं – संविधान दिवसको अवसर पारेर असोज ३ गते शनिबारबाट हास्य विधामा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौथो सिजन ग्रान्ड प्रिमियरसहित प्रसारण सुरु भएको छ। हिमालय टेलिभिजनमा राति ९ बजे र ओएसआर रियालिटीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको पहिलो एपिसोडमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी अतिथिका रूपमा सहभागी थिए।

यस सिजनमा शोको जज प्यानल र सञ्चालकमा केही परिवर्तन गरिएको छ। अघिल्ला सिजनकी जज ऋचा शर्माले निरन्तरता पाएकी छन् भने मनोज गजुरेल, सन्तोष पन्त र प्रदीप भट्टराईको स्थानमा जितु नेपाल, बुद्धि तामाङ र शोका निर्देशक विशाल भण्डारी नयाँ जजको रूपमा जोडिएका छन्। जोकको शैलीमा नयाँपन र ‘फ्रेस रोस्ट’ प्रस्तुत गर्ने उद्देश्यले जज प्यानल परिवर्तन गरिएको निर्देशक भण्डारीले जनाएका छन्। त्यस्तै, कार्यक्रम सञ्चालकमा मेक्सम गौडेल निरन्तर छन् भने सांसद बनेकी रीमा विश्वकर्माको स्थान नम्रता श्रेष्ठले लिएकी छन्।

थ्री प्रोडक्सन टिमको प्रस्तुति र सगुन पाण्डे प्रमुख कार्यकारी निर्माता रहेको यो सिजन करिब ३० एपिसोडसम्म सञ्चालन हुनेछ। शोका निर्देशक भण्डारीले ‘कमेडी च्याम्पियन’ सँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै, यस मञ्चलाई नयाँ प्रतिभाहरूको ‘जिरोदेखि हिरो’ सम्मको यात्राको संज्ञा दिएका छन्। उनले नयाँ कलाकारहरूको सफलता र संघर्षको कथा बुन्न पाउनु आफ्नो टिमका लागि गर्वको विषय रहेको बताउँदै दर्शकलाई उनीहरूको यात्राको साक्षी बन्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu