
काठमाडौं – रोशन दासको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘प्रतिवैरम्’ को आइटम गीत ‘माहोल गरम’ चार फरक भाषा (नेपाली, हिन्दी, मैथिली र भोजपुरी) मा सार्वजनिक गरिएको छ। नेपाली संस्करण ओएसआर डिजिटलबाट र अन्य संस्करण आदर्श प्रोडक्सनबाट सार्वजनिक गरिएका हुन्। यस गीतमा अभिनेत्री प्रियंका कार्कीलाई ‘बसन्ती’ को भूमिकामा प्रस्तुत गरिएको छ भने चलचित्रका डेब्यु अभिनेता सम्राट दासलाई गीतको अन्त्यतिर एक्सन अवतारमा देखाइएको छ।
नेपाली संस्करणको गीतमा हृतिका श्रेष्ठको स्वर, रोशन दासको शब्द र मनीष अधिकारीको सङ्गीत रहेको छ। त्यस्तै, हिन्दी संस्करण ‘जवानी कातिल’, मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा ल्याइएको छ, जसमा शिवानी भगत र समीक्षा चौधरीको स्वर सुन्न सकिन्छ। गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन्।
मधेशको सामाजिक परिवेश, सम्बन्ध, अपराध र बदलाको कथालाई मुख्य विषयवस्तु बनाइएको यस चलचित्रमा सम्राट दास, बिरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको कथा निर्देशक दास स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद युवराज भट्टराईको रहेको छ।
रेज इन्टरटेन्मेन्टको प्रस्तुति तथा विभिन्न प्रोडक्सन कम्पनीको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता हर्ष कुमार यादव र सत्यराज चौलागाईं हुन् भने कार्यकारी निर्माता बिक्की शाह रहेका छन्। नेसनल सिनेमा ग्रुपले वितरण गर्ने यो चलचित्र आगामी मंसिर ४ गतेदेखि नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा देशभर प्रदर्शनमा आउने तयारीमा छ।
गीतः



