
काठमाडौं । भारतीय गायिका कल्पना पटवारीको स्वरमा तयार छठ गीत ‘करीले परबिया’ सार्वजनिक भएको छ । आसन्न छठपर्वलाई लक्षित गरी बनाइएको भोजपुरी भाषाको यो गीत फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेकी हुन् ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा मंगलबार बेलुकी आयोजित कार्यक्रममा गीत उडान इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत हेरेपछि मुख्यमन्त्री यादवले गीत र कलाकारको प्रशंसा गर्दै मधेश प्रदेशमा सम्भवतः पहिलो पटक यस स्तरको गीत निर्माण भएकोमा गर्व लागेको बताए । उनले निर्माता र सम्पूर्ण टिमलाई आगामी दिनमा पनि यस्तै गीत–संगीत र चलचित्र निर्माण गर्न आग्रह गर्दै कलाकार तथा धर्म–संस्कृतिको प्रवर्द्धनमा प्रदेश सरकार सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
गीतको भिडियोमा छठपर्व मनाउँदा श्रद्धालुले अपनाउने विधि र पूजापाठ देखाइएको छ । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको भिडियोमा मधेश प्रदेशका कलाकारले अभिनय गरेका छन् । गीतले मैथिली संस्कृति र छठी माताको महिमा उजागर गरेको निर्माण पक्षको भनाइ छ ।
गीतमा शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा शर्मिला थापा, निभा यादव, सिमरन साह, अमृता साह र सिमरन सोनीले अभिनय गरेका छन् । कमलेश सिंह (काम ली) ले निर्देशन गरेको भिडियो उडान प्रोडक्सन्सले निर्माण गरेको हो । भिडियोको छायांकन साजन ठाकुरले र ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका छन् ।
कार्यक्रममा उडान इन्टरटेनमेन्टकी सञ्चालक तथा गीतकी मुख्य पात्र शर्मिला थापाले मिथिलाको धर्म, संस्कृति र परम्परा उजागर गर्न आफू सधैं लागिपर्ने बताइन् । ‘सामाजिक सद्भाव र उत्तरदायित्व निर्वाह गर्न सबै धर्म र चाडपर्वको सम्मान गर्नुपर्छ,’ उनले भनिन्, ‘मिथिलाको संस्कृति, सभ्यता र परम्परालाई गीत–संगीत र चलचित्रमार्फत अगाडि ल्याउने कोसिसमा छु । आगामी दिनमा पनि यस्तै काम गर्नेछु ।’
निर्मात्री थापाले छोरीप्रति समर्पित आफ्नो चलचित्र ‘मायाजाल’ केही दिनमै रिलिज हुने जानकारी दिइन् । उनले निर्माण गरेको अर्को नेपाली चलचित्र ‘आशा’ आगामी माघेसंक्रान्तिमा प्रदर्शन हुँदैछ ।
गायिका कल्पना पटवारी ‘बिल्लु भयङ्कर’, ‘तेरे लाई’, ‘उचा लम्बा कद’, ‘इश्कसे मिठा’, ‘शकिरा’, ‘ऐला रे ऐला’, ‘गन्दी बात’ लगायतका हिट गीतमा स्वर दिएकी गायिका हुन् । उनी भारतीय चलचित्रका साथै भोजपुरी, मराठी र बंगाली भाषाका गीतमा स्वर दिँदै आएकी छन् । पछिल्लो समय उनी धार्मिक गीत गाउँदै आएकी छन् ।




