
काठमाडौं । छ दशकदेखि साहित्य र सङ्गीतमा निरन्तर सक्रिय गीतकार तथा साहित्यकार प्राज्ञ उन्नती बोहरा ‘शीला’का २५ गीत समेटिएको ‘फर्की आऊ शान्ति तिमी उन्नती शीला सङ्गीत समर्पण साँझ–२०८३’ सम्पन्न भएको छ। उन्नती बोहरा शीला गीत पुरस्कार मञ्चको आयोजनामा कात्तिक १५ गते आइतबार राजधानीको नेपाल पुलिस क्लबमा भएको कार्यक्रममा सङ्गीतरत्न शम्भूजीत बास्कोटालाई १ लाख ५१ हजार रुपैयाँ नगदसहित अभिनन्दन गरिएको थियो।
मुन्धुम संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। आयोजकले यसलाई शीलाको ६० वर्ष लामो साहित्यिक र ५४ वर्ष लामो गीतलेखन यात्राको ऐतिहासिक कार्यक्रमका रूपमा लिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार शीलाले आफूले जीवन नै गीत सिर्जना र साहित्यमा समर्पण गरेको बताइन्। दर्शकको उपस्थितिले सिर्जनाको उचाइ अझ बढाएको उल्लेख गर्दै उनले यो एकल साँझ श्रीमान् दीपक बोहरा र छोरी चाँदनी बोहराप्रति समर्पित गरेको बताइन्।
शीलाका सयौँ गीत रेकर्ड भइसकेका छन्। साँझमा प्रस्तुत २५ गीतमा शम्भूजीत बास्कोटा र दीपक जङ्गमको सङ्गीत छ। ‘जननी जन्मभूमिश्च’, ‘कहीँ कतै लडखडाए भने’, ‘फर्काइदेऊ मेरा प्रेमपत्रहरू’, ‘बाँध बाँध मलाई मायाले बाँध’, ‘भुल भयो मबाट’, ‘यति गहिरो चोट’, ‘सेती खोला सँगसँगै तरौँला’, ‘डाँडाकाँडा ढकमक ढाकी’, ‘ए नील गगनमा उड्ने पन्छी’, ‘गुराँसको रङ रातो’ लगायतका गीत विभिन्न गायकगायिकाले प्रस्तुत गरेका थिए।
प्रत्यक्ष वाद्यवादनसहित प्रमोद खरेल, बानिका प्रधान, माण्डवी त्रिपाठी, प्रवीण बेड्वाल, जगदीश समाल, कर्ण दास, प्रश्ना शाक्य, आनन्द कार्की, सङ्गीता राना प्रधान, निशा देशार, सञ्जय तुम्रोक, विश्व नेपाली, टीका प्रसाईं, सरिता शाही, सुरेश लामा लगायतले गीत गाएका थिए। २१ जना वाद्यवादकलाई वरिष्ठ सङ्गीतकार तथा सङ्गीत संयोजक मनोहर सुनामले सञ्चालन गरेका थिए।
कार्यक्रमको नाम शीलाकै लोकप्रिय देशभक्ति गीत ‘फर्की आऊ शान्ति तिमी’बाट राखिएको थियो। कर्ण दासको स्वर र शम्भूजीत बास्कोटाको सङ्गीत रहेको यो गीतलाई नेपाली सङ्गीतको महत्त्वपूर्ण गीतका रूपमा लिइन्छ।
कार्यक्रममा गायिका तथा सङ्गीतकार मीरा राणा, साहित्यकार उषा शेरचन, चलचित्र सम्पादक नरेन्द्र खड्का, वरिष्ठ गायक कर्ण दास, कलापत्रकार राजाराम फुयाल र डब्बु क्षेत्री, सङ्गीतकार तथा संयोजक मनोहर सुनाम र अमूल कार्की ढली, फोटोग्राफर मनोज शाही तथा नृत्याङ्गना प्रितिशा केसीलाई जनही २१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।
सङ्गीतकार दीपक जङ्गम, गीतकार राजेन्द्र थापा र श्रीपुरुष ढकाल, अभिनेता नीर शाह, अभिनेत्री वसुन्धरा भुसाल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, वरिष्ठ गायिका देविका बन्दना र विमला राई, वरिष्ठ सङ्गीतकार राजु सिंह, चलचित्र निर्माता प्रदीप उदय लगायत कला, साहित्य, राजनीति र समाजका विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो। कार्यक्रम हेम सुवेदी र सेसेमी लिम्बूले सञ्चालन गरेका थिए।
शीलाका ‘कोसेली उसैलाई’, ‘भावनाका तरङ्ग’, ‘अदृश्य घाउ’ लगायतका कृति र ‘सिक्काका दुई पाटा’ उपन्यास प्रकाशित छन्। उनका केही साहित्यिक सिर्जना अङ्ग्रेजीमा अनुवाद भएका छन् भने नेपाली गीत साहित्यमा उनको योगदानबारे त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अनुसन्धानसमेत भएको छ।
महिला गीतकार सङ्घकी संस्थापक अध्यक्षसमेत रहेकी बोहरा विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा सक्रिय छिन्। साहित्य र सङ्गीतमा योगदानका लागि उनले प्रबल गोरखा दक्षिणबाहु, म्युजिकखबर सङ्गीत शीला सम्मान, नेसनल क्यापिटल लाइफटाइम अचिभमेन्ट अवार्ड लगायत दर्जनौँ सम्मान पाइसकेकी छन्।




