एनसेल पीआरबीटी र टिकटकमा बजेका गीतको ३८ लाख रोयल्टी सर्जकलाई बाँडिँदै



सङ्गीत रोयल्टी

काठमाडौं । मोबाइलको पीआरबीटी र टिकटकमा नेपाली गीत बजाइएबापत उठेको रोयल्टी अब ती गीतका सर्जकको हातमा पुग्ने भएको छ । सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालले यस्तो रकम करिब ३८ लाख रुपैयाँ सर्जकलाई बाँड्न लागेको हो ।

दूरसञ्चार कम्पनी एनसेलको पीआरबीटी सेवा र सामाजिक सञ्जाल टिकटकमा प्रयोग भएका गीत-सङ्गीतबापत विवरणसहित प्राप्त रकम बुधबार (कात्तिक १८) राजधानीमा आयोजना हुने कार्यक्रममार्फत वितरण गरिनेछ । अनामनगरस्थित किमची रेस्टुरेन्टको हलमा बिहान ११:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म चल्ने कार्यक्रमलाई समाजले दीपावलीको शुभकामना आदानप्रदानसँगै जोडेको छ ।

समाजका प्रमुख कार्यकारी अधिकृत सागर पाण्डेका अनुसार यो रकम समाजमा आबद्ध सदस्य सर्जकलाई मात्र दिइनेछ । रोयल्टी लिन चाहने सर्जकले सम्बन्धित गीत आफ्नै सिर्जना भएको पुष्टि गर्ने कागजात लिएर समाजमा सम्पर्क गर्नुपर्ने उनले जानकारी दिए ।

पाण्डेका भनाइमा गीतको शब्द र धुनमाथिको प्रकाशन अधिकार गीतकार तथा सङ्गीतकारमै रहन्छ । त्यसैले कुनै पनि प्लेटफर्मले गीत-सङ्गीत प्रयोग गर्दा त्यसबापतको निश्चित प्रतिशत रकम रोयल्टीका रूपमा वास्तविक सर्जकसम्म पुर्‍याउनुपर्ने व्यवस्था छ ।

पछिल्लो समय पीआरबीटी र टिकटकजस्ता डिजिटल माध्यममा नेपाली गीतको प्रयोग बढ्दै गएको छ । यिनै माध्यमबाट समाजमा आएको रकम अहिले सर्जकलाई हस्तान्तरण गर्न लागिएको पाण्डेले बताए ।

प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ३९ बमोजिम २०६४ सालमा स्थापित सङ्गीत रोयल्टी सङ्कलन समाज गीत-सङ्गीतको सार्वजनिक प्रयोगबापत रोयल्टी उठाएर सम्बन्धित सर्जकलाई वितरण गर्ने संस्था हो । समाजको अध्यक्षमा सुरेशचन्द्र अधिकारी छन् ।

सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको रोयल्टी वितरण सम्बन्धी विज्ञप्ति
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu